मङ्सिर १, काठमाडौं । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर योगदान गर्ने विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।
विभागले आयोजना गरेको विशेष कार्यक्रममा आयकरतर्फ विभिन्न क्षेत्र र कारोबार समूहका उत्कृष्ट करदातालाई सम्मान गरेको हो । निकायमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ भने व्यक्तिगत रूपमा सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन् ।
एकलौटी फर्मतर्फ थर्ड आइ इन्टरनेसनल उत्कृष्ट करदाता बनेको छ । वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि र सूचना प्रविधि सेवा निर्याततर्फ इनफाईनाई सर्भिसेजले उत्कृष्ट करदाताको सम्मान प्राप्त गरेका छन् । कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसिबी फुड्स प्रालि सम्मानित हुँदा ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि उत्कृष्ट बनेको छ ।
बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्रबाट नबिल बैंक लिमिटेड उत्कृष्ट करदाता बनेको छ । स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड र पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड सम्मानित भएका छन् । वस्तु व्यापारतर्फ सिजी इम्पेक्स प्रालिले उत्कृष्ट करदाताको सम्मान पाएको छ ।
वार्षिक ५० देखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने समूहमा फुड एण्ड टेक्नोलोजी रिसर्च सेन्टर प्रालि उत्कृष्ट करदाता बनेको छ भने ५० करोड रुपैयाँसम्म कारोबार गर्ने समूहमा इम्पेरियल सेक्युरिटी प्रालि सम्मानित भएको छ । विशेष उद्योगतर्फ बरुण बेभरेज नेपाल प्रालिले सम्मान प्राप्त गरेको छ ।
रेमिटेन्स तथा मनी ट्रान्सफर व्यवसायमा आईएमई लिमिटेड उत्कृष्ट करदाता बनेको छ । जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन र निर्जीवन बीमातर्फ सिद्धार्थ बीमा कम्पनी सम्मानित भएका छन् । लघुवित्त क्षेत्रबाट छिमेकी लघुवित्त उत्कृष्ट करदाता बनेको छ ।
यसैगरी मूल्य अभिवृद्धि करतर्फ सबैभन्दा उत्कृष्ट करदाताका रूपमा हिमालयन डिस्टिलरी प्रालि सम्मानित भएको छ । विभागले विशेष सम्मान भाटभटेनी सुपरमार्केटलाई प्रदान गरेको छ ।