कात्तिक २४, नुवाकोट । विदुर नगरपालिका–५ देवीघाटमा शनिबार जलवायु न्यायको माग गर्दै कला प्रदर्शन आयोजना गरिएको छ।
राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) टर्कीको आन्ताल्यामा चलिरहेका बेला स्थानीय नागरिक समाजले शब्द र चित्रमार्फत विश्व समुदायको ध्यानाकर्षण गराएको हो।
गैरसरकारी संस्था महासंघ नुवाकोटको आयोजनामा त्रिशूली नदी किनार देवीघाटमा भएको कार्यक्रममा कलाकारहरूले भोटेकोशी–त्रिशूली बाढीले पुर्याएको विनाश, प्रभावित समुदायको पीडा र पुनर्निर्माणका चुनौतीलाई क्यानभासमा उतारेका थिए।
आयोजकका अनुसार यस प्रदर्शनमार्फत जलवायु परिवर्तनका असर भोगिरहेका समुदायको आवाज अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने उद्देश्य राखिएको छ।
कार्यक्रममा बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिव दाहालले सङ्घीय सरकारले बाढी प्रभावितको घाउमा मलम नलगाएको र स्थानीय सरकारको हात बाँधिएको बताए। विभिन्न परिपत्रले काम गर्न रोकेकाले नीतिगत अप्ठ्यारो सिर्जना भएको उनको भनाइ थियो।
कार्यक्रममा विदुर नगरपालिका–५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, गैरसरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष लोचन भट्टराई, रसुवाका अध्यक्ष हेमनाथ खतिवडालगायतले जलवायु न्यायको पक्षमा आवाज उठाए।

वक्ताहरूले नेपाल जस्ता विकासशील मुलुकले जलवायु परिवर्तनमा न्यून योगदान दिए पनि प्राकृतिक विपद्का गम्भीर असर भोग्नुपरेको उल्लेख गरे। अव्यवस्थित पुनर्निर्माण र औद्योगिक क्रान्तिबाट सिर्जित वातावरणीय प्रभावले जोखिम थप जटिल बनाएको उनीहरूको तर्क थियो।
प्रभावित समुदायको पुनर्स्थापना र पुनर्निर्माणका लागि ऋणको सट्टा अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिइएको थियो। जलवायु संकटका जिम्मेवार पक्षले क्षतिको उचित सम्बोधन गर्दै न्याय दिनुपर्ने माग राखिएको थियो।
कार्यक्रममा ‘ऋण होइन, अनुदान चाहिन्छ’, ‘नेपाललाई जलवायु न्याय चाहिन्छ’ र ‘हामीलाई न्याय अहिले चाहिन्छ’ भन्ने नारा लगाइएको थियो।
कला प्रदर्शनले बाढीपछिको परिदृश्यलाई चित्रमार्फत उतारेर अन्तर्राष्ट्रिय बहससँग स्थानीय पीडालाई जोड्ने प्रयास गरेको छ।