असोज १८, नुवाकोट । गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त नुवाकोट र धादिङका सहकारी संस्थाहरूको कार्यालय पुनःस्थापनाका लागि भक्तपुर बचत तथा ऋण सहकारी सङ्घले जिन्सी सामग्री सहयोग गरेको छ।
आइतबार विदुर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्राकृतिक विपत्तिबाट प्रभावित सहकारी संस्थाको सेवा प्रवाहलाई सहज बनाउन नुवाकोटका सात र धादिङको एक गरी आठ वटा सहकारी संस्थालाई आवश्यक प्रविधि तथा फर्निचर सामग्री हस्तान्तरण गरिएको हो।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले भक्तपुर बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरि बल्ल, नुवाकोट बचत तथा ऋण सहकारी संघका अध्यक्ष नारायण श्रेष्ठ, विदुर नगरपालिकाका सहकारी शाखा प्रमुख नानीमैया नेपाललगायतको उपस्थितिमा सम्बन्धित सहकारी संस्थाका प्रतिनिधिहरूलाई सामग्री हस्तान्तरण गरेका थिए।
सहयोग प्राप्त गर्ने सहकारी संस्थाहरूमा नुवाकोटको विदुर नगरपालिका क्षेत्रका त्रिशूली, उत्तरगया, शुभारम्भ, उपकार, दक्षिणकाली, कुल भक्तेश्वर र माता मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्। यस्तै, धादिङको गल्छी गाउँपालिकास्थित स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि सहयोग प्राप्त गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले सङ्कटको समयमा सहकारी क्षेत्रभित्र देखिएको यो आपसी भ्रातृत्व र सहयोगको भावना अत्यन्तै सराहनीय रहेको बताए । बाढीपहिरोले क्षति पुर्याएका सहकारी संस्थाहरूको पुनर्स्थापना तथा पुनरुत्थानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उनले बताए । सङ्कटको यस घडीमा बैङ्क तथा बीमा संस्थानहरूलाई कागजी प्रक्रियामा मात्रै सीमित नभई मानवीय र लचिलो दृष्टिकोण अपनाउन उनले आग्रह गरेका छन् । स्थानीय अर्थतन्त्र अहिले ‘भेन्टिलेटर’मा पुगेको टिप्पणी गर्दै उनले भने, “अहिलेको अवस्थामा पीडित परिवार र व्यवसायीलाई धराशायी हुनबाट जोगाउन वित्तीय संस्थाहरूले अक्सिजनको रूपमा सहज सहयोग र सेवा प्रवाह गर्नुपर्छ।”
उनले प्राकृतिक विपत्तिका बेला राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विपद्मा सबै गुमाएका र जीवनरक्षाका लागि सङ्घर्षरत नागरिकका लागि राहत, उद्धार र सहयोगको जिम्मेवारी सरकारले लिनुपर्ने स्पष्ट पारे ।
भक्तपुर बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष हरि बल्लका अनुसार बाढीबाट प्रभावित सहकारी संस्थाहरूको कार्यालय पुनः सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको हो।
कार्यक्रममा नुवाकोट बचत तथा ऋण सहकारी संघका अध्यक्ष नारायण श्रेष्ठले बाढीबाट प्रभावित सहकारी संस्थाहरूको कार्यालय पुनःस्थापनाका लागि संघ सुरुवाती चरणदेखि नै सक्रिय रहेको बताए । उनका अनुसार क्षति पुगेका सहकारी संस्थाहरूलाई सहजता प्रदान गर्न नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड, काठमाडौं बचत तथा ऋण सहकारी संघ तथा एसियाली क्रेडिट युनियन महासंघलगायतका संस्थासँगको सहकार्यमा आगामी केही साताभित्र पुनःस्थापनाका लागि आवश्यक पहल गरिनेछ। प्रभावित सहकारीहरूलाई सहकारी सफ्टवेयर तथा ऋण व्यवस्थापनमा समेत सहजीकरण गरिने अध्यक्ष श्रेष्ठले बताए।
भक्तपुर बचत तथा ऋण सहकारी संघका ३१ सदस्य सहकारी संस्थाहरूको संयुक्त सहयोगमा आठलाख ४० हजार ३४ बराबरको सामग्री हस्तान्तरण गरिएको सङ्घका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले जानकारी दिए।
बाढी तथा पहिरोबाट क्षतिग्रस्त संस्थाहरूमा आवश्यक सामग्री उपलब्ध भएपछि कार्यालय सञ्चालन तथा नियमित सेवा प्रवाहमा सहयोग पुग्ने भक्तपुर बचत सङ्घले अपेक्षा लिएको छ।
कार्यक्रममा सङ्गम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिशूली सहकारीलाई एक थान प्रिन्टर प्रदान गरिएको छ ।