+
Search

ताजा अपडेट +

पपुलर +

नेरेसो नुवाकोटद्वारा बाढी प्रभावित क्षेत्रमा निरन्तर मानवीय सेवा प्रवाह गर्ने प्रतिबद्धता

डबली खबर
२० घण्टा अगाडी

असोज १८, नुवाकोट । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले ४९औँ स्थापना दिवसको अवसरमा विपद्को समयमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संकटमा परेका नागरिकको सेवामा निरन्तर खटिने प्रतिबद्धता व्यक्त गरेको छ।

रेडक्रस नुवाकोट जिल्ला शाखाका सभापति हरि श्रेष्ठ र मन्त्री उद्धव शर्मा रिजालद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। रेडक्रस नुवाकोटले उक्त विपद्मा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

विपद्पश्चात् स्थानीय उपशाखा, स्वयंसेवक, शिक्षक नायक तथा तालिमप्राप्त स्वयंसेवकहरूलाई प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा खटाइएको शाखाले जनाएको छ। ‘जहाँ विपद्, त्यहाँ रेडक्रस’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै रेडक्रसले आइसिआरसी, आइएफआरसी, नेरेसो केन्द्रीय तथा बागमती प्रदेश समितिसँगको समन्वयमा राहत तथा प्रतिकार्यका कार्यहरू निरन्तर सञ्चालन गरिरहेको छ।

संस्थाले विपद् व्यवस्थापनका अतिरिक्त नियमित मानवीय सेवाहरूसमेत प्रदान गर्दै आएको छ। जसअन्तर्गत नेरेसो रक्तसञ्चार सेवा केन्द्रबाट २४सै घण्टा निःशुल्क रक्तसेवा तथा सामुदायिक आँखा केन्द्रमार्फत आँखा जाँच र वर्षमा चार पटक मोतियाविन्दु अपरेसन शिविर सञ्चालन हुँदै आएको छ।

४९ वर्षको यस यात्रामा सहयोग, समन्वय र सहजीकरण गर्ने सम्पूर्ण सरोकारवाला निकाय, सहयोगी संस्था एवं रेडक्रसकर्मीहरूप्रति शाखाले आभार व्यक्त गर्दै स्थापना दिवसको शुभकामना सन्देश दिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ