+
Search

ताजा अपडेट +

पपुलर +

बाढी प्रभावितका लागि स्रोत साधनको कमी हुन नदिने आईएफआरसीको प्रतिबद्धता

डबली खबर
१२ मिनेट अगाडी

असोज १५, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीले सिर्जना गरेको विपद्को प्रतिकार्यमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले देखाएको तत्परता र मानवीय सेवाको अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासङ्घ (आईएफआरसी) ले उच्च मूल्याङ्कन र प्रशंसा गरेको छ। रेडक्रस नुवाकोटले अग्रपंक्तिमा रहेर प्रभावित समुदायको उद्धार र राहतमा खेलेको भूमिका उदाहरणीय रहेको भन्दै महासङ्घले आगामी दिनमा आवश्यक पर्ने कुनै पनि स्रोत साधनको कमी हुन नदिने स्पस्ट पारेको हो।

नेपाल रेडक्रस सोसाइटी नुवाकोटको कार्यालयमा बिहीबार आयोजित विशेष अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आईएफआरसीका महासचिव जगन चापागाईं, नेपाल प्रतिनिधि डेभिड फिसर र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिका महामन्त्री ऋषिरमण खनालसहितको उच्चस्तरीय टोली नुवाकोट पुगेको थियो। जिल्ला शाखाका पदाधिकारी, सदस्य तथा कर्मचारीहरूसँग भएको उक्त औपचारिक भेटघाटमा हाल भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेका उद्धार, राहत तथा पुनर्स्थापनाका गतिविधिबारे गम्भीर समीक्षा गरिएको थियो।

अन्तरक्रियाका क्रममा आईएफआरसीका महासचिव जगन चापागाईंले विपद्को समयमा नेपाल रेडक्रसले स्थानीय तहदेखि केन्द्रसम्म खेलेको मानवीय भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

“बाढीपीडितको घाउमा मलम लगाउन र पुनर्स्थापनाको कार्यलाई पूर्णता दिन स्रोत व्यवस्थापनमा कुनै सम्झौता हुनेछैन,” महासचिव चापागाईंले भने । उनले स्थानीय समुदायको आवश्यकता अनुसार तत्काल राहत सामग्री पुर्‍याउन र दिगो पुनर्स्थापनाका लागि आवश्यक वित्तीय तथा प्राविधिक सहयोग निरन्तर जुटाइरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो अवसरमा नुवाकोट रेडक्रसका सभापति हरि श्रेष्ठ र मन्त्री उद्बव शर्मा रिजालले जिल्लाको वस्तुस्थितिबारे प्रकाश पार्नुभएका थिए । उनीहरूले बाढीपीडितसम्म पुग्न देखिएका भौगोलिक तथा व्यावहारिक चुनौतीहरू, हालसम्म हासिल भएका उपलब्धि र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । स्थानीय सरोकारवाला निकाय, समर्पित स्वयंसेवक र रेडक्रसकर्मीहरूको बलियो समन्वयका कारण नै कठिन परिस्थितिमा पनि प्रभावित परिवारसम्म राहत पुर्‍याउन सम्भव भएको उनीहरूको भनाइ थियो।

अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलको प्रत्यक्ष उपस्थिति र प्रतिबद्धताले नुवाकोट रेडक्रसका टोलीमा थप ऊर्जा थपेको सभापति श्रेष्ठले बताए । छलफलका क्रममा आगामी दिनमा आउन सक्ने सम्भावित विपद्लाई ध्यानमा राख्दै पूर्वतयारी, जनशक्ति व्यवस्थापन र सञ्जाल विस्तारलाई थप सुदृढ बनाउने विषयमा गहन सहमति बनेको उनले जानकारी दिए ।

IFRC's meet Tribhuvan Trishuli Secondary School Headmaster

आईएफआरसी प्रतिनिधिहरूले त्रिभुवन त्रिशूली माविका प्रधानाध्यापकसँग भेट गर्दै

रेडक्रस नुवाकोटको कामको अन्तर्राष्ट्रियस्तरमै कदर भएपछि रेडक्रसकर्मीहरूले अझ बढी समर्पण र उत्साहका साथ पीडितहरूको सेवामा समर्पित रहने अठोट व्यक्त गरेका छन्। भ्रमणका क्रममा महासचिव चापागाईं नेतृत्वको टोलीले विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र  त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीसँग भेटघाट गरी बाढीपछिको प्रतिकार्य, प्रभावित समुदायको अवस्था तथा आगामी दिनमा गर्न सकिने सहयोग र कार्यक्रमबारे छलफल गरेका थिए ।

IFRC's commitment to ensuring that resources for flood victims are not lacking Bidur

नगद सहायता हस्तान्तरण कार्यक्रम

यसै क्रममा नेपाल रेडक्रस सोसाइटीले विदुर नगरपालिका–१० का बाढी प्रभावित परिवारलाई बहुउद्देश्यीय नगद सहायता हस्तान्तरण कार्यक्रममा सहभागिता जनाएको थियो। महासचिव चापागाईंले नेपाल रेडक्रसद्वारा बट्टारमा सञ्चालित रेडक्रस आपत्कालिन क्लिनिकको समेत निरीक्षण गरी प्रदान भइरहेका स्वास्थ्य सेवाबारे जानकारी लिएका थिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ