असोज १५, नुवाकोट । बाढीपीडित परिवारलाई सहायता पुर्याउने उद्देश्यका साथ नेपाल कपडा तथा सिलाइ व्यवसायी महासङ्घले राहत वितरण गरेको छ। महासङ्घले भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीका कारण विस्थापित र प्रभावित बनेका नागरिकलाई पाँचौँ चरण अन्तर्गत राहत वितरण कार्य गरेको जनाएको छ ।
महासङ्घका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठसहित प्रतिनिधिहरूको टोलीले विदुर नगरपालिकाका विभिन्न स्थानमा पुगेर कुल ९५ परिवारका चारसय ३९ जना बाढीपीडितहरूलाई प्रत्यक्ष भेटघाट गर्दै अत्यावश्यक तयारी पोसाकहरू हस्तान्तरण गरेका हुन् । बाढीबाट घरबारविहीन भएका तथा दैनिकी चलाउन असहज भएका हरूका लागि मौसम अनुकूलका तयारी कपडाहरू उपलब्ध गराइएको उनले बताए ।

राहत वितरण गर्दै महासङ्घका प्रतिनिधिहरू
महासङ्घ नुवाकोटका अध्यक्ष कमल नेपालीका अनुसार विदुर नगरपालिकाका दुई फरक बस्तीहरूमा पुगेर व्यवस्थित तरिकाले कपडा बाँडिएको छ । महासङ्घले विदुर नपाको पिपलटार क्षेत्रमा अस्थायी बसोबास गर्दै आईरहेका ४५ परिवारका कुल दुई सय ३९ जना र सिमचौर क्षेत्रका ५० परिवारका कुल दुई सय जना नागरिकहरू राहत प्रदान गरिएको उनले बताए ।
विपत्तिको समयमा मानवीय सहायताले बाढीपिडितमा ठूलो राहत र भरोसा जगाएको महासङ्घले जनाएका छन्। आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै आगामी दिनहरूमा पनि यस्तै समस्यामा परेका नागरिकहरूलाई हातेमालो गर्दै सहयोगको हात अगाडि बढाउने महासङ्घको प्रतिबद्धता रहेको छ।