असोज ९, नुवाकोट । भोटेकोशीमा आएको बाढी त्रिशूली नदीसम्म फैलिँदा पुल बगेपछि विदुर र बेलकोटगढी नगरपालिकालगायत क्षेत्रका नागरिकलाई त्रिशूली अस्पतालसम्म पुग्न कठिनाइ भएको छ। सडक तथा पुलको पहुँच अवरुद्ध भएपछि सामान्य उपचारका लागिसमेत काठमाडौं जानुपर्ने अवस्था सिर्जना भएको थियो।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विदुर नगरपालिकाको पिपलटारमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय परिसरमा स्थापना गरिएको चार शय्याको आकस्मिक स्वास्थ्य केन्द्रको शुभारम्भ कार्यक्रममा उक्त योजनाबारे जानकारी गराएको हो । नुवाकोट आएर बाढीका कारण विच्छेद भएको सडक तथा पुलको सम्पर्क पुनर्स्थापना गर्ने योजना सार्वजनिक गरेका हुन् ।
उनले रसुवादेखि नुवाकोटसम्म अति आवश्यक पाँच स्थानमा तत्काल झोलुङ्गे पुल निर्माण गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए। पुल निर्माणका लागि छोटो अवधिको बोलपत्र आह्वान गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिइसकेको उनले बताए। ‘रसुवादेखि नुवाकोटसम्मका अति आवश्यक पाँच स्थानमा झोलुङ्गे पुल निर्माणको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको छु,’ मुख्यमन्त्री थापाले भने ।
बाढीका कारण पुल तथा सडक बग्दा प्रभावित बस्तीका नागरिकलाई आवतजावत, दैनिक उपभोग्य वस्तुको ढुवानी तथा स्वास्थ्य सेवा लिन समस्या भइरहेको छ। स्थानीय जनप्रतिनिधिले पनि विदुर नगरपालिकाका बाढी प्रभावित क्षेत्रमा बेलिब्रिज जडान गरी आवागमन सहज बनाउनुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्।
मुख्यमन्त्री थापाका अनुसार बागमती प्रदेश सरकारसँग उपलब्ध ५०–५० मिटर लम्बाइका दुई बेलिब्रिज एक साताभित्र जडानका लागि तयार हुनेछन्। स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरी आवश्यकता र प्राथमिकताका आधारमा ती बेलिब्रिज दुई स्थानमा जडान गरिने उनले बताए ।
यसै गरी नेपाली सेनासँग समन्वय गरी पुरानो अर्को बेलिब्रिजसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । तत्कालका लागि अस्थायी पुलबाट यातायात सम्पर्क जोड्ने र दीर्घकालीन समाधानका लागि पक्की पुल निर्माणको अध्ययनसमेत अघि बढाइने उनको भनाइ छ।
पुल निर्माण नभएका स्थानमा तत्काल वैकल्पिक सडक खोल्ने कामसमेत अघि बढाइएको मुख्यमन्त्री थापाले बताए । त्यसका लागि पूर्वमुख्यमन्त्री तथा अन्य जनप्रतिनिधिबाट प्राप्त सुझावलाई आधार बनाइएको उहाँले जानकारी दिए ।