+
Search

ताजा अपडेट +

पपुलर +

भूकम्प र बाढी प्रकृतिको दोहोरो प्रहारमा शिव

सुनील श्रेष्ठ
११ घण्टा अगाडी

असोज ८, नुवाकोट । विपत्तिले मानिसलाई कतिसम्म लखेट्न सक्छ भन्ने एउटा कारुणिक दृश्य अहिले नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूलीमा देख्न सकिन्छ। २०७२ को विनाशकारी भूकम्पमा पाँच दिनसम्म पहिरोभित्र पुरिएर, आफ्नै आँखाअगाडि ९ वर्षीय छोरालाई गुमाएर पनि जीवनसँग हार नमानी फर्किएका शिव श्रेष्ठका लागि नियति फेरि कठोर बनेर उभिएको छ। भूकम्पको त्यो दर्दनाक घाउ मनमा बोकेर घिस्रिँदै जिन्दगीलाई एउटा नयाँ गोरेटोमा हिँडाउन खोजिरहेका शिवको परिवारलाई हालै भोटेकोशी- त्रिशूली नदीमा आएको विनाशकारी बाढीले फेरि घरविहिन बनाइदिएको छ। पहिरोले छोरा खोस्यो, अहिलेको बाढीले घर, जमिन र गाँस–बासको सहारा नै बगाएर लगेपछि शिव यतिबेला आफ्ना दुई साना सन्तानलाई अँगालोमा बेरेर टोलाइरहेका छन्।

२०७२ को विनाशकारी भूकम्पमा पाँच दिनसम्म पहिरोभित्र पुरिएर, आफ्नै आँखाअगाडि ९ वर्षीय छोरालाई गुमाएर पनि जीवनसँग हार नमानी फर्किएका शिव श्रेष्ठका लागि नियति फेरि कठोर बनेर उभिएको छ।

भूकम्पका बेला रसुवाको मैलुङ क्षेत्र गएका शिव श्रेष्ठ पहाडबाट खसेको पहिरोमा पुरिँदा पाँच दिनसम्म बिना अन्न र पानी जीवन र मृत्युको दोसाँधमा छटपटिएका थिए। त्यही भीषण पहिरोमा परेका उनका ९ वर्षीय छोराले भने सधैँका लागि संसारबाट बिदा लिए। काठमाडौँका अस्पतालहरूमा लामो उपचार र विदुरका स्थानीय सहयोगीहरूको तत्परताका कारण शिवले नयाँ जीवन त पाए, तर त्यसयता उनको शरीर पहिले जस्तो स्वस्थ र सबल रहन सकेन। शारीरिक अशक्तता र बिरामी शरीरका बाबजुद पनि उनी आफ्ना बाँकी दुई सन्तानको उज्ज्वल भविष्य र ओछ्यानको सुरक्षित छानोका लागि निरन्तर पसिना बगाइरहेका थिए।

आफू बिरामी भएकाले कडा श्रम गर्न नसक्ने र आम्दानीको कुनै स्रोत नरहेकाले भोलिको बिहान के खाने र बालबच्चालाई कहाँ राख्ने भन्ने चिन्ताले उनलाई दिनरात पिरोलिरहेको छ।

तर, भाग्यले उनलाई फेरि अर्को भयानक मोडमा ल्याएर पछारेको छ। त्रिशूलीको उर्लँदो बाढीले शिवको ओत लाग्ने एउटा सानो घर, जमिन, र ओढ्ने-ओछ्याउने कतिपय लालपुर्जा र सामानहरू क्षणभरमै स्वाहा पारिदियो। आज शिवको शरीरमा भएको एकसरो कपडाबाहेक केही पनि बाँकी छैन। श्रीमती र दुई अबोध बालबालिकासहित उनी यतिबेला खुला आकाशमुनि बस्न बाध्य छन्। बाढीले घरबासमात्रै लगेको छैन, बिरामी अवस्थामा रहेका शिवको परिवार पाल्ने एकमात्र आर्थिक जग पनि भत्काइदिएको छ। आफू बिरामी भएकाले कडा श्रम गर्न नसक्ने र आम्दानीको कुनै स्रोत नरहेकाले भोलिको बिहान के खाने र बालबच्चालाई कहाँ राख्ने भन्ने चिन्ताले उनलाई दिनरात पिरोलिरहेको छ।

earthquake victim shiva shrestha 2k

२०७२ को भूकम्पमा ९८ घण्टापछी उद्धार गरिँदै शिव श्रेष्ठलाई।

उनी कुनै ठूलो धनसम्पत्ति वा दयाको भीख माग्न चाहँदैनन्, केवल आफ्ना बालबालिकाका लागि दुई छाक भात, एउटा सानो सुरक्षित छानो र उनीहरूको पढाइ निरन्तर अगाडि बढाउने एउटा अवसरको याचना गरिरहेका छन्।

“भूकम्पले मेरो पहिलो सन्तान खोसेर लग्यो, आज बाढीले मेरो ओत लाग्ने छानो र जीवनको अन्तिम आधार खोस्यो,” भक्कानिँदै शिव भन्छन्, “आफ्नो लागि त म केही माग्दिनँ, तर मेरा यी दुई अबोध सन्तानको भविष्य सम्झिँदा मेरो मुटु फुटेर आउँछ। उनीहरूलाई भोलि के खुवाउने, कहाँ राख्ने र कसरी पढाउने भन्ने प्रश्नले मलाई निदाउन दिएको छैन।” उनी कुनै ठूलो धनसम्पत्ति वा दयाको भीख माग्न चाहँदैनन्, केवल आफ्ना बालबालिकाका लागि दुई छाक भात, एउटा सानो सुरक्षित छानो र उनीहरूको पढाइ निरन्तर अगाडि बढाउने एउटा अवसरको याचना गरिरहेका छन्।

नेपाल सरकार, स्थानीय निकाय, विभिन्न सामाजिक संघ-संस्था, र देश-विदेशमा रहेका सहयोगी मनहरूसँग हात जोड्दै शिवले आफ्ना सन्तानको भविष्य जोगाइदिन अपिल गरेका छन्। कसैको सानो आर्थिक वा भौतिक सहयोगले यी बालबालिकाको ओठमा फेरि मुस्कान ल्याउन सक्छ र उनीहरूको शिक्षा रोकिनबाट जोगिन सक्छ। दुई-दुई पटक प्रकृतिको भयानक प्रहार सहेर पनि बाँच्ने अदम्य साहस गरिरहेका शिव श्रेष्ठ र उनको परिवारलाई यतिबेला केवल आश्वासन होइन, दह्रो मानवीय सहाराको खाँचो छ। बाढीले उनको घर त बगायो, तर सबैको सामूहिक प्रयास र सहयोग हुन सके उनका सन्तानको सुन्दर भविष्य बग्नबाट पक्कै जोगिनेछ।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ