+
Search

ताजा अपडेट +

पपुलर +

बेलिब्रिज निर्माण र वैकल्पिक मार्ग विस्तारमा विदुर नगरपालिका

सुनील श्रेष्ठ
४१ मिनेट अगाडी

असोज ११, नुवाकोट । गत भदौ १० गते आएको विनाशकारी बाढी र पहिरोका कारण नुवाकोटको त्रिशूली नदीपारिको क्षेत्रसँग सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएपछि विदुर नगरपालिकाले आपतकालीन उद्धार, राहत तथा दीर्घकालीन पूर्वाधार पुनर्निर्माणको कार्यलाई तीव्र बनाएको छ।

बाढीले सम्पूर्ण पुलहरू बगाएपछि त्रिशूलीपारिका बस्तीहरू सडक सम्पर्कबाट टाढा भई स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति र दैनिक उपभोग्य वस्तुहरूको व्यवस्थापनमा ठूलो चुनौती खडा भएको अवस्थामा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले स्थानीय तह तथा उच्चस्तरीय पुनर्निर्माण कार्यदल मार्फत तत्कालीन र दीर्घकालीन समाधानका पहलहरू अघि बढाएको जानकारी दिए ।

बाढीका कारण मुख्य सडक तथा पुलहरू नष्ट भएपछि सुरुवाती दिनहरूमा हेलिकप्टर तथा कल्लेरीघाटको साँघुरो वान-वे बाटो प्रयोग गरी खाद्यान्न तथा अत्यावश्यक सामग्री पुर्‍याइएको भए पनि त्यो अत्यन्तै जोखिमपूर्ण र अपर्याप्त रहेको थियो।

चाडपर्व नजिकिँदै गर्दा तथा स्थानीय जनतालाई त्रिशूली अस्पतालसम्म पुगेर स्वास्थ्य सेवा लिन समेत कठिन भइरहेको विषम परिस्थितिलाई सम्बोधन गर्न नगरप्रमुख श्रेष्ठले वैकल्पिक मार्ग र बेलिब्रिज निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनका अनुसार विदुर नगरपालिका-१ ढुङ्गेस्थित कृषि विकास बैंक र कृषि ज्ञान केन्द्रको मध्यभागबाट त्रिशूली नदीमाथि ७० मिटर लामो बेलिब्रिज जडान गर्ने कार्य तीव्र गतिमा अघि बढाइएको छ।

भारतीय सरकारले नेपाल सरकारको सडक विभागलाई हस्तान्तरण गरेको उक्त बेलिब्रिज निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट स्वीकृति भई फाउन्डेसन तयार पार्ने, सामग्री सङ्कलन गर्ने र डिजाइन अन्तिम रूप दिने काम भइरहेको छ।

यसका साथै त्रिशूलीपारिको भूगोल विदुर नगरपालिकामा मात्र सीमित नरही किस्पाङ गाउँपालिका, म्यागङ गाउँपालिका, रसुवा जिल्ला तथा धादिङको उत्तरी रुवी भ्यालीसम्म जोडिने मुख्य मार्ग भएकाले दीर्घकालीन सडक सञ्जाल पुनर्स्थापनाका लागि प्रधानमन्त्री तथा उच्चस्तरीय कार्यदलसमक्ष प्रस्तावहरू पेस गरिएको उनले बताए ।

त्रिशूली नदीपारी नगरका सडकलाई दुई लेनको कालोपत्र बनाउन एक अर्ब रुपैयाँ बराबरको विस्तृत प्रस्ताव पेस गरिएको र सो प्रस्तावमा सरकार सकारात्मक रहेकाले केही समयभित्रै ठेक्का प्रक्रिया सुरु हुने अपेक्षा गरिएको उनले बताए ।

बेत्रावती क्षेत्रमा नदीले बाटो कटान गरी रसुवासँगको सम्पर्क विच्छेद भएकाले गेर्खुटार, माथिल्लो गेर्खु, सापटार, तल्लो केराघारी र चुराडाँडा हुँदै बेत्रावती जोड्ने वैकल्पिक मार्गको योजना समेत स्वीकृतिको चरणमा रहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ