साउन २९, नुवाकोट। वर्डक्याम्प काठमाडौंले आफ्नो सम्मेलनका लागि अन्तराष्ट्रिय कम्पनीहरूको प्रयोजन र सहकार्य प्राप्त गरेको छ ।
आगामी असोज २ र ३ गते काठमाडौंमा हुने सम्मेलनमा ब्लुहोस्ट, होस्टिङ्ग डटकम, जेटप्याक र व्हूको सहकार्यले नेपालमा वर्डप्रेस समुदायका लागि समावेशी, शैक्षिक तथा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न योगदान पुग्ने कार्यक्रम संयोजक रेगन खड्गीले बताए ।
ब्लुहोस्ट लामो समयदेखि वेब होस्टिङ तथा वर्डप्रेस सम्बन्धित सेवामा सक्रिय कम्पनीका रूपमा रहेको आयोजकले उल्लेख गरेको छ। वेबसाइट होस्टिङ, डोमेन, सुरक्षा तथा इ-कमर्सलगायतका सेवामार्फत व्यक्तिगत प्रयोगकर्ता, उद्यमी तथा व्यवसायलाई अनलाइन उपस्थिति निर्माण गर्न सहयोग गर्दै आएको कम्पनीलाई वर्डप्रेस समुदायमा समेत परिचित ब्रान्डका रूपमा प्रस्तुत गरिएको छ।
यस्तै, होस्टिङ्ग डटकम वेब होस्टिङ कम्पनी हो, जसले विश्वभरका ४० स्थानमा रहेका टिम सदस्यहरूसँग काम गर्दै आएको छ। आजसम्म २० भन्दा बढी डाटा सेन्टरमार्फत ३० लाखभन्दा बढी वेबसाइटलाई समर्थन गर्दै आएको छ। दुई दशक लामो अनुभव र नवप्रवर्तनलाई निरन्तरता दिँदै कम्पनी विश्वव्यापीस्तरमा ग्राहकलाई भरपर्दो, छिटो र दिगो सेवा दिन प्रतिबद्ध छ। साथै, यो कम्पनीले वर्डप्रेस समुदायलाई सक्रिय रूपमा सहयोग गर्दै खुला वेबलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
आयोजकका अनुसार प्रायोजनले सम्मेलनमा सहभागी विभिन्न पृष्ठभूमिका व्यक्तिलाई सिकाइ तथा नेटवर्किङका अवसर उपलब्ध गराउन सहयोग गर्नेछ।
विकासकर्ता, डिजाइनर, ‘फ्रीलान्सर’, विद्यार्थी, डिजिटल एजेन्सी तथा व्यवसायीलाई एउटै मञ्चमा ल्याउने सम्मेलनको उद्देश्यमा प्रायोजकहरूको सहकार्य महत्वपूर्ण हुने आयोजकले जनाएको छ।
वर्डक्याम्प जस्ता कार्यक्रम खुला स्रोत प्रविधिमा ज्ञान र अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण माध्यम मानिन्छन्। नेपालमा वर्डप्रेस प्रयोगकर्ता तथा विकासकर्ताको समुदाय विस्तार भइरहेका बेला अन्तर्राष्ट्रिय कम्पनीको सहभागिताले स्थानीय समुदायलाई विश्वव्यापी वर्डप्रेस ‘इको सिस्टम’सँग जोड्ने अवसर थप बलियो बनाउने अपेक्षा गरिएको छ।
आयोजकले यस वर्षको सम्मेलनलाई सिकाइ, सहकार्य, नवप्रवर्तन र समुदाय निर्माणमा केन्द्रित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।