२९ साउन, नुवाकोट । सडक दुर्घटना न्यूनीकरण तथा सवारी सुरक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले नुवाकोटको ढिकुरेमा सवारी चालकहरूको स्वास्थ्य तथा लागूऔषध सेवनसम्बन्धी विशेष परीक्षण गरिएको छ।
शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोट र त्रिशूली अस्पतालको संयुक्त आयोजनामा लिखु गाउँपालिका–१ स्थित इलाका प्रहरी कार्यालय ढिकुरेको परिसरमा सवारी चालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो ।
ढिकुरे सडकखण्ड भई आवतजावत गर्ने साना तथा ठूला सवारीसाधनका चालकहरूलाई लक्षित गरी आज बिहान सञ्चालन गरिएको उक्त शिविरमा चालकहरूको शारीरिक अवस्था र लागूऔषध सेवन गरे/नगरेको जाँच गरिएको ट्राफिक प्रमुख बिनोद ढकालले जानकारी दिए । उक्त विशेष चेकिङ तथा परीक्षणका क्रममा कुल २७ जना सवारी चालकहरूको स्वास्थ्य परीक्षण गरिएको उनले बताए।
परीक्षण गरिएका सबै चालकहरूको लागूऔषध किटमार्फत् गरिएको परीक्षणमा सबै जनाको ‘निगेटिभ’ देखिएको र सबै चालकहरू सामान्य अवस्थामा रहेको पाइएको त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए ।
सवारी दुर्घटना हुनुको मुख्य कारण चालकको स्वास्थ्य स्थिति र नशाको अम्मल पनि भएकाले प्रहरीले पछिल्लो समय यस्ता सचेतनामूलक तथा कडाइका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ।
सवारीसाधन चलाउँदा चालक पूर्ण रूपमा स्वस्थ र सचेत हुनुपर्ने सन्देश दिन यो कार्यक्रम सञ्चालन गरिएको र आगामी दिनमा पनि जिल्लाका अन्य मुख्य सडक खण्डहरूमा यस्ता परीक्षणहरू जारी राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।