+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशुली बजार बस्ति विकासको जग्गा विवाद सुल्झाउन संयोजक तोकियो

trishuli town development Nuwakot
डबली खबर
६ घण्टा अगाडी

साउन १९, त्रिशूली। नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ स्थित ऐतिहासिक त्रिशूली बजारमा करिब तीन दशक लामो समयदेखि अनिर्णित बन्दै आएको बस्ति विकास र जग्गा स्वामित्वसम्बन्धी समस्या समाधानका लागि सरोकारवाला तथा स्थानीय नागरिकहरूको भेला बसेको छ ।

स्थानीय भीमसेन मन्दिर परिसरमा भएको बृहत नागरिक भेलाले यसअघि गठित तदर्थ समिति खारेज गरी उक्त समितिकै अध्यक्ष मोहनबहादुर श्रेष्ठको संयोजकत्वमा  आगामी तीन महिनाभित्र बस्ति विकास संस्थालाई कानुनी एवं विधिवत् रूपमा दर्ता गरी बाँकी रहेका प्रशासनिक तथा प्राविधिक कार्यहरू गर्ने र नयाँ कार्यसमिति गठन गर्ने जिम्मेवारी सुम्पेको छ।

विदुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष लेनिन रञ्‍जितका अनुसार २०५५ मा त्रिशुली बजार विस्तार कार्यक्रमअन्तर्गत सडक, ढल तथा नाली निर्माणका लागि स्थानीय घरजग्गाधनीहरूबाट ३० प्रतिशत लगत कट्टा गरी बस्ति विकासको अवधारणा अघि बढाइएको भए तापनि तत्कालीन समयमा संस्था दर्ता नहुँदा उत्पन्न जटिलतालाई सदाका लागि अन्त्य गर्न यो कदम चालिएको हो।

त्रिशुली बजार बस्ति विकास । राजेन्द्र महर्जन

उक्त समयमा संस्थागत कानुनी आधार नभएका कारण बजार विस्तार र जग्गा खरिद-बिक्रीका व्यावहारिक कार्यहरू अगाडि बढाउन भन्दै जग्गाधनीहरूबाट प्राप्त ३० प्रतिशत जग्गा तत्कालीन बस्ति विकास समितिका पदाधिकारीहरूको व्यक्तिगत नाममा दर्ता गरिएको भेलामा स्थानीयहरुले आक्षेप लगाएका थिए । सोही आक्षेपको जवाफमा अध्यक्ष श्रेष्ठले आफुले त्यस्तो कुनै किसिमको गैरजिम्मेवारी कार्य नगरी वस्ती विकासको हितको लागि कार्य गर्दै आईरहेको बताए ।

उक्त लालपुर्जा तथा सरकारी अभिलेखहरू हालसम्म पनि तिनै पदाधिकारीहरूकै नाममा कायम रहँदा स्थानीय नागरिक तथा जग्गाधनीहरूमाझ निरन्तर असन्तुष्टि र जनगुनासो बढ्दै आएको थियो। सोही विषयलाई सम्बोधन गर्दै जग्गाको उचित व्यवस्थापन र कानुनी प्रक्रिया मिलाउन वडा कार्यालयको पहलमा आयोजना गरिएको बैठकले अब तोकिएको तीन महिनाको समयावधिभित्र संस्थाको कानुनी दर्ता प्रक्रिया पूरा गर्नेछ। त्यसपछि पदाधिकारीहरूको नाममा रोकिएर रहेको जग्गालाई संस्थागत दायरामा ल्याउँदै वास्तविक सरोकारवाला र जग्गाधनीहरूको समस्या स्थायी रूपमा समाधान गरिने जनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ