साउन ११, नुवाकोट । सरकारले देशभरका ४२२ वटा सामुदायिक विद्यालयलाई नमुना विद्यालय र प्राविधकधार सञ्चालन अनुदानमा ५३७ वटा विद्यालयले प्राप्त गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकले विद्यालय शिक्षा क्षेत्र योजना अनुसार आधारभूत तथा माध्यमिक तहको सिकाइ उपलब्धिमा सुधार ल्याउने उद्देश्यले यी विद्यालयहरू छनोट गरेको जनाएको छ। विगतमा नमुना विकासका लागि समावेश नभएका विद्यालयहरूलाई प्राथमिकता दिँदै देशका सबै स्थानीय तहमा क्रमशः नमुना विद्यालय निर्माण गर्ने रणनीति सरकारले लिएको छ।
यसैक्रममा नुवाकोट जिल्लाबाट यस नमुना विद्यालय विकास कार्यक्रमका लागि छनोट भएका विद्यालयहरूमा विदुर नगरपालिकाभित्रका त्रिभुवन त्रिशूली मा.वि. र चण्डेश्वरी मा.वि. (विदुर ७) ले यसवर्ष पनि नमुना विद्यालयको मान्यता पाएका छन्। यस्तै, बेलकोटगढी नगरपालिकाको महादेव मा.वि. (रातमाटे), लिखु गाउँपालिकाको क्षेत्रपाल मा.वि. (चौघडा), किस्पाङ गाउँपालिकाको ऐसेलुभुमे मा.वि. (काहुले), र ककनी गाउँपालिकाको महेन्द्र मा.वि. (चतुराले) यस कार्यक्रमका लागि छानिएका छन्। यसका साथै म्यागङ वडा नम्बर ५ को बिन्दुकेशर मा.वि. र तादी वडा नम्बर ३ को अमरज्योति मा.वि. समेत यस वर्ष पनि छनोटमा पर्न सफल भएका छन्।
यसैगरी, प्राविधकधार सञ्चालन अनुदान प्राप्त गर्ने विद्यालयमा रणभुमेश्वरी मावि, महेन्द्र मावि, अमरज्योति मावि, ऐसेलुभुमे मावि र नवजीवन मावि यस वर्ष पनि छनोटमा पर्न सफल भएका छन्।
विज्ञान विषय प्रवर्धन कार्यक्रम सञ्चालनमा पनि त्रिभुवन त्रिशुली माविले निरन्तता पाएको छ।
यी विद्यालयहरूलाई लक्षित गरी ल्याइएको यस बृहत सुधार योजनाले नुवाकोटका विद्यार्थीहरूलाई सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूको शैक्षिक भविष्यलाई सुरक्षित र प्रतिस्पर्धी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने जनाएको छ।
यस परियोजनाले परीक्षा प्रणालीको आधुनिक सुधार, लैंगिक, सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका विद्यार्थीहरूको पहुँच वृद्धि, विद्यालय छाड्ने दरमा कमी, शिक्षकको समयतालिका व्यवस्थापन र समग्र विद्यालय प्रशासनमा व्यापक सुधार ल्याउने लक्ष्य राखेको छ। राष्ट्रियस्तरको अभियानले नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहहरूमा रहेका सार्वजनिक विद्यालयहरूको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र शिक्षण-सिकाइ वातावरणलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यसै सन्दर्भमा, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको आर्थिक वर्ष २०८३/८४ को कार्यक्रम कार्यान्वयन कार्यविधि अनुसार कुल राष्ट्रिय बजेटको १०.२८ प्रतिशत अर्थात् २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ शिक्षा तथा खेलकुद क्षेत्रका लागि विनियोजन गरिएको छ।
कार्यविधि अनुसार स्थानीय तहमार्फत विद्यालयहरूमा दिवाखाजा, निःशुल्क पाठ्यपुस्तक, सेनिटरी प्याड वितरण, शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग, प्रारम्भिक सिकाइ (फाउन्डेसनल लर्निङ) र बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन जस्ता कार्यक्रमहरू सञ्चालन हुनेछन्। स्थानीय तहमा बजेटको सोझै पहुँच पुगेसँगै नुवाकोटमा शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन र विद्यार्थीको मनोसामाजिक तथा वृत्ति परामर्शका कार्यक्रमहरू अझ व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वास लिइएको छ।
प्रतिक्रिया