असार २२, नुवाकोट । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी अगस्टमा दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ आयोजना गर्ने भएको छ ।
नाइमाले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने एक्सपोमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ उत्पादन प्रदर्शन गरिने जनाएको छ ।
दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल सवारी, इलेक्ट्रिक तथा हाइब्रिड गाडी, प्रविधि र अन्य मोबिलिटी सम्बन्धी उत्पादन समेटिनेछन् ।
नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्सपोलाई नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनीको रूपमा प्रस्तुत गर्न कुनै कसर बाँकी नराखिने बताईन् ।
उनले गत वर्षको पहिलो एक्सपो सफल भएको, ट्राफिक प्रहरीलाई तालिम, सडक सुरक्षा कार्यक्रम र अन्य सहयोगका काम नाइमाले गरेको उल्लेख गरिन् ।
यसपटक एक्सपोको टिकट आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान र तालिममा खर्च गरिने जनाएको छ ।
एक्सपोमा मनसुनलाई ध्यान दिएर विशेष व्यवस्था गरिएको छ । अपाङ्गता भएका व्यक्तिका लागि सहज पहुँच, नेपाल पुलिस क्लबमा पार्किङ, पठाओको छुट राइड र युनियन पे क्यूआरबाट टिकटमा क्यासब्याक सुविधा उपलब्ध हुने छ ।
प्रदर्शनमा ‘ब्लु पेभिलियन’मा निःशुल्क सिकाईका चरणहरू सञ्चालन हुनेछन् । यी चरणमा मोबिलिटी, सडक सुरक्षा, प्रविधि, रोजगारी र भविष्य सम्बन्धी विषयमा छलफल हुनेछ ।
ग्लोबल आईएमई बैंक को–स्पोन्सर र रेड बुल पावर्ड बाई बेभरेज पार्टनरको रूपमा रहेका छन् ।

प्रतिक्रिया