+
Search

ताजा अपडेट +

पपुलर +

केन्द्रीकृत नीतिको आरोप लगाउँदै न्यौपानेद्वारा राजीनामा

Neupane resigns, alleging centralized policy
डबली खबर
५ मिनेट अगाडी

असार ८,  नुवाकोट । नेपाल कम्युनिष्ट पार्टीका गोकर्णनाथ न्यौपानेले पार्टीको बेलकोटगढी नगर कमिटी अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टीभित्र मौलाउँदै गएको विकृति, विधिहीनता र युवा नेतृत्वप्रतिको उपेक्षालाई मुख्य कारण देखाउँदै उनले राजीनामा बुझाएका हुन् ।

सामाजिक सञ्जालमा पार्टी परित्यागको घोषणा गर्दै न्यौपानेले वर्तमान अवस्थामा पार्टी एउटा सङ्गठित राजनीतिक दल जस्तो नभई फगत एउटा अभियान वा आन्दोलनको रूपमा मात्रै सिमित हुन पुगेको टिप्पणी गरे । स्पष्ट राजनीतिक विचारधारा, ठोस नीति तथा कार्यक्रम र मजबुत विधानको अभावमा सिङ्गो पार्टी पद्धति नै कमजोर बनेको उनको ठहर छ ।

पार्टीका हरेक निर्णय, विचार र नीतिहरू संस्थागत हुनुको साटो केवल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा मात्रै केन्द्रित रहने गरेको न्यौपानेले बताए । तल्लो कमिटीदेखि केन्द्रीय समितिसम्म कुनै निश्चित मापदण्ड वा विधिको पालना नहुँदा पार्टी दिशाहीन बनेको उनको भनाइ छ । अन्य दलहरूमा महाधिवेशन वा विशेष महाधिवेशनमार्फत विधान संशोधन र केन्द्रीय समिति विस्तार गर्ने स्थापित लोकतान्त्रिक परिपाटी भए पनि आफ्नो पार्टीमा आवश्यकताका नाममा मनपरी ढङ्गले संख्या थपघट गरिने गरेको उनले आरोप लगाए। कहिले २५ सय त कहिले ४५ सय सम्मको जम्बो केन्द्रीय समिति बनाइनु र एउटै व्यक्तिलाई दोहोरो-तेहरो जिम्मेवारी सुम्पिनुले संगठनलाई गतिशील र जीवन्त राख्न नसकेको उनले औंल्याए ।

लामो समयदेखि एउटै नेतृत्व र पुराना अनुहारहरू मात्रै पदमा टिकिरहँदा नयाँ र ऊर्जावान युवा पुस्ताले पार्टीभित्र आफ्नो भविष्य देख्न छाडेको न्यौपानेको गुनासो छ । जिल्ला, प्रदेश र केन्द्रमा उही पुराना पदाधिकारीहरूको अविच्छिन्न बर्चस्व रहेका कारण पार्टीमा युवाहरूको आकर्षण र आगमन ठप्प जस्तै भएको उनले उल्लेख गरे । पार्टीभित्र विचार र बहसका कुरा सुनिने गरे तापनि त्यसको वास्तविक कार्यान्वयन कहिल्यै नहुने हुँदा युवाहरू निराश बनेको उनको विश्लेषण छ ।

पार्टीलाई विधानसम्मत, गतिशील र लोकतान्त्रिक ढङ्गले अगाडि बढाउन अब नेतृत्वमा ‘पुस्तान्तरण’ अपरिहार्य भइसकेको र सोही अभियानको सुरुवात स्वरूप आफूले पदबाट राजीनामा दिएको उनले प्रष्ट पारे ।

आफ्नो राजीनामालाई लिएर बजारमा चल्न सक्ने विभिन्न अड्कलबाजी र भ्रमहरूलाई चिर्दै न्यौपानेले आफू तत्काल कुनै अर्को राजनीतिक दलमा प्रवेश गर्न नलागेको प्रष्ट पारे  । पार्टीभित्रै रहेर रूपान्तरण र आत्मसमीक्षाको बहस चलाउनु आफ्नो मुख्य उद्देश्य रहेको उनले बताए । कम्युनिष्ट पार्टीको आन्तरिक प्रणाली र सैद्धान्तिक मर्यादालाई ध्यानमा राख्दै आफूले लिखित राजीनामा पत्र पार्टी कमिटीमा बुझाइसकेको र यसका आन्तरिक विषयहरूलाई तत्काल सार्वजनिक नगरिएको समेत उनले जानकारी दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ