१९ वैशाख, विदुर । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले जिल्ला अन्तर्गतका विभिन्न पालिका शाखाहरुको सभा तथा अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।
रेडक्रसको मानवीय सेवालाई स्थानीय तहसम्म अझ सुदृढ बनाउने उद्देश्यका साथ आगामी वैशाख २१ गतेबाट निर्वाचनका सम्पूर्ण प्रक्रियाहरु विधिवत रुपमा प्रारम्भ हुने निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ।
अधिवेशनमा समावेशी नेतृत्वलाई प्राथमिकता दिँदै पालिका समितिको निर्वाचन प्रक्रियामा महिला र १८ देखि ३० वर्ष उमेर समूहका युवाहरुका लागि उम्मेदवारी मनोनयन दर्ता शुल्क पूर्णरुपमा नि:शुल्क गरिएको छ । जसले गर्दा नयाँ पुस्ता र महिलाहरुको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।
जिल्लाका नौ पालिकाहरुमा एकसाथ बैशाख २६ गते निर्वाचन हुने जनाएको छ। विदुर नगरपालिका, बेलकोटगढी, तारकेश्वर, ककनी, सूर्यगढी, लिखु, तादी, किस्पाङ र दुप्चेश्वर गाउँपालिकाका शाखामा बिहान ७:०० देखि ७:३० को समयमा निर्वाचन सुरु हुने गरी समय तय गरिएको छ।
यसैगरी म्यागङ र पञ्चकन्यामा जेठ २ गते र शिवपुरीमा जेठ ११ गते निर्वाचन तय गरिएको छ।
रेडक्रसले मानवीय कार्यमा आबद्ध हुन चाहने सबै सदस्यहरुलाई आ-आफ्नो क्षेत्रको तोकिएको मतदान केन्द्र र समयमा उपस्थित भई निर्वाचन प्रक्रियामा सहभागी हुन र अधिवेशनलाई सफल पार्न आह्वान गरेको छ।

प्रतिक्रिया