४ वैशाख, काठमाडौँ । ‘हाइब्रिड’ सवारीसाधनको संयन्त्र, सुरक्षा र मर्मतसम्भार सम्बन्धी प्राविधिक तालिम भएको छ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)ले समन्वय तथा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटको प्राविधिक सहयोगमा आयोजित तीन दिने तालिमले नेपालमा भित्रिँदै गरेका आधुनिक सवारीसाधनहरूको मर्मत र व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले बताए।
तालिममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) अन्तर्गतको बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका डिप्लोमा तहका विद्यार्थी र ट्राफिक चालकसहित २५ जनाभन्दा बढीको सहभागिता रहेको उनले जानकारी दिए।
सहभागीहरूले हाइब्रिड गाडीका प्राविधिक पक्षहरू र यसको सञ्चालनका क्रममा अपनाउनुपर्ने सुरक्षा मापदण्डबारे व्यवहारिक र सैद्धान्तिक ज्ञान हासिल गरेका छन्। तालिम शृङ्खलाले विद्यार्थीहरूलाई विद्युतीय सवारीसाधन र हाइब्रिड दुवै प्रविधिमा पोख्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।
सहभागीहरूले यसअघि लक्ष्मी हुन्डाईमा विद्युतीय सवारीसाधन सम्बन्धी तीन दिने प्रशिक्षण र नाइमा मोबिलिटी संवादमा समेत भाग लिइसकेका थिए। यसरी चरणबद्ध रूपमा प्रदान गरिएको ज्ञानले भविष्यका प्राविधिकहरूलाई बजारको मागअनुसार सक्षम बनाउने विश्वास गरिएको छ।
कार्यक्रममा सीटीइभिटीका उपनिर्देशक खुशीराम अधिकारीले हाइब्रिड सवारीसाधनसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्ने विषयलाई प्राथमिकतामा राखिने र आवश्यक प्रक्रियाहरू अघि बढाइने जानकारी दिए। साथै, नेपालको विविध भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस्ता सवारीसाधनको सान्दर्भिकता बढ्दै गएको पनि उहाँले उल्लेख गरे ।
बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका उपप्राचार्य प्रदीप न्यौपानेले नाइमा को प्रयासप्रति प्रशंसा व्यक्त गर्दै दक्ष जनशक्ति उत्पादनका लागि अटो उद्योग र प्राविधिक शिक्षाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखेका थिए । साथै, हालै सम्पन्न ३ दिने विद्युतिय सवारीसाधन सम्बन्धी तालिमले विद्यार्थीहरूलाई सिकाइका व्यावहारिक पक्ष बुझ्न निकै उपयोगी भएको पनि उहाँले उल्लेख गरेका थिए ।
तालिमको समापनका क्रममा वैद्यज अर्गनाइजेशनका निर्देशक सूर्यांश वैद्यले नवप्रवर्तन र पेशागत विकासका लागि यस्ता व्यवहारिक तालिमहरू अपरिहार्य रहेको बताए।
सहभागीहरूले गत चैत्र महिनामा लक्ष्मी हुन्डाईमा आयोजित विद्युतिय सवारीसाधन संयन्त्र सम्बन्धी ३ दिने तालिममा पनि सहभागिता जनाएका थिए।
प्रतिक्रिया