+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा ‘नेपाली सेनासँग एक दिन’, विद्यार्थीमा देशभक्ति जगाउने नयाँ प्रयास

A day with the Nepali Army in Nuwakot, a new effort to instill patriotism in students
डबली खबर
३ हप्ता अगाडी

२९ चैत, विदुर । नुवाकोटमा रहेको शेर गणको विशेष अवधारणा अनुसार स्थानीय विद्यार्थीहरूलाई लक्षित गरी “नेपाली सेनासँग एक दिन” कार्यक्रम भएको छ।

शनिबार गणको मुख्यालय र भैरवी मन्दिर परिसरमा भएको छुट्टाछुट्टै आयोजित कार्यक्रममा विदुर नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरू र सैनिक परिवारका सन्ततिहरूको उत्साहजनक सहभागिता रहेको गणका प्रमुख आविष्कार ढुङ्गानाले जानकारी दिए । कार्यक्रमको मुख्य उद्देश्य युवा पुस्तामा राष्ट्र, राष्ट्रियता र देशभक्तिपूर्ण भावना जागृत गराउँदै सचेत नागरिक निर्माणमा सहयोग पुर्‍याउनु रहेको उनले बताए ।

कार्यक्रममा ६ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी सुवाशजङ्ग थापाको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायत अन्य सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी रेग्मीले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा राष्ट्रभक्ति जगाउनुका साथै नागरिक र सेनाबीचको सम्बन्धलाई थप प्रगाढ र सुमधुर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रमको सुरुवात गण मुख्यालयदेखि ऐतिहासिक नुवाकोट दरबारसम्मको पदयात्राबाट गरिएको थियो। दरबार परिसरमा पुगेर विद्यार्थीहरूबीच राष्ट्र र राष्ट्रियताका विषयमा वक्तृत्वकला प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । सो अवसरमा सहभागीहरूलाई नेपाली सेनाले गर्ने विभिन्न चुनौतीपूर्ण तथा सीपमूलक कार्यहरूको प्रत्यक्ष अनुभव र जानकारी गराइएको उनले जानकारी दिए ।

विद्यार्थीहरूले टेन्ट टाँग्ने, सिग्नल सञ्चार, विपद् व्यवस्थापन, प्राथमिक उपचार, ‘जङ्गल वारफेयर’, र्‍’यापिलिङ्ग’ तथा ‘क्लाइमिङ्ग’ जस्ता सैनिक गतिविधिहरूको अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।

सो क्रममा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै सांस्कृतिक आदानप्रदान समेत गरेका थिए । जसले कार्यक्रमलाई थप रोचक बनाएको थियो।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रामचन्द्र इटनी, स्थानीय इतिहासविद् रामहरी आचार्य, पत्रकार तथा शिक्षकहरू गरी करिब ६० जनाभन्दा बढीको सहभागिता थियो।

इतिहास, राष्ट्र निर्माणमा सेनाको योगदान र स्थानीय सरकारसँगको समन्वय जस्ता विषयमा व्यवहारिक ज्ञान दिन यो कार्यक्रम सफल रहेको सहभागी शिक्षकहरूले बताएका छन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ