+
Search

ताजा अपडेट +

पपुलर +

सातामा दुई दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय, कार्यालय समय बिहान ९ देखि ५ कायम

डबली खबर
३ हप्ता अगाडी

२२ चैत, नुवाकोट । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई न्यूनीकरण गर्न सातामा दुई दिन सार्वजनिक बिदा दिने महत्वपूर्ण निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले बढ्दो इन्धन खपत कम गर्ने उद्देश्यले यो कदम चालिएको जानकारी दिए । प्रवक्ता पोखरेलका अनुसार यो निर्णय सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा लागू हुनेछ। दुई दिन बिदा दिइए तापनि सेवा प्रवाहमा असर पर्न नदिन शैक्षिक संस्था बाहेकका सरकारी कार्यालयहरूको समय भने बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरिएको छ।

यसैगरी, मन्त्रिपरिषद्ले अर्थतन्त्र र पूर्वाधार विकासका लागि वैदेशिक सहायता स्वीकार गर्ने लगायतका विभिन्न सातबुँदे निर्णयहरू गरेको छ। सरकारले ‘डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट’ का लागि एसियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। त्यस्तै, दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर ऋण पनि स्वीकार गरिएको छ।

बैठकले वातावरण संरक्षण र इन्धन निर्भरता घटाउन डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय (ईभी) मा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको छ। शिक्षा क्षेत्रतर्फ, आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय भएको छ।

अन्य निर्णयहरूमा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गरिएको छ भने सबै मन्त्रालय, सचिवालय तथा आयोगहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ