२० चैत, नुवाकोट । ६९औं राष्ट्रिय सहकारी दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाएको छ । यस वर्ष दिवसको नारा उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता रहेको छ ।
दिवसकै अवसरमा जिल्ला सहकारी सङ्घ नुवाकोटले विदुरमा आयोजित एक विशेष कार्यक्रममा विदुर नगरपालिका-१, त्रिशूलीमा रहेको त्रिशूली बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी व्यवस्थापक सुनिता जोशीलाई उत्कृष्ट व्यवस्थापकको रूपमा सम्मान गरेको छ।
जिल्ला समन्वय प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले उनलाई दोसल्ला ओढाई कदर पत्रले सम्मान गरेका हुन् ।
जोशीको नेतृत्वमा सहकारीले वित्तीय अनुशासन, सदस्य सेवा र पारदर्शी व्यवस्थापनमा उत्कृष्टता हासिल गरेको भन्दै सम्मान प्रदान गरिएको सङ्घका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।
जोशीको व्यवस्थापन कौशलले संस्थालाई आर्थिक रूपमा मजबुत बनाउनुका साथै सदस्यहरूबीच विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहकारी क्षेत्रका सरोकारवालाहरूले बताएका छन्।
यसैगरी, विदुर नपा-९ डिहिबजारमा रहेको काफलगेडी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट सहकारी संस्थाबाट सम्मानित एवम् पुरस्कृत गरेको छ । गतिशिल महिला बहुउद्देश्यिय सहकारी संस्थाका अध्यक्षलाई उत्कृष्ट सञ्चालकको रुपमा सम्मान गरेको छ।
कार्यक्रमले सहकारीमार्फत आर्थिक सशक्तीकरण र सामुदायिक विकासमा पुर्याइएको योगदानलाई उच्च मूल्याङ्कन गरेको छ।
प्रतिक्रिया