१० चैत, बेत्रावती । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मुख्य प्रसारण लाइन पहिरोका कारण उच्च जोखिममा परेपछि यसको सुरक्षा र स्थानान्तरणका लागि सरोकारवालाहरूले तदारुकता देखाएका छन्।
विदुर नगरपालिका–१० स्थित बेत्रावती बजारको पछाडि त्रिशुली नदी किनारको डिलमा लगातार पहिरो खस्दा खानेपानीको ४३५ मिटर लामो मुख्य पाइपलाइन जोखिममा परेको संस्थाका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठले जानकारी दिए । पाइपलाइनसँगै बेत्रावती बजारका स्थानीय ३ घर समेत पहिरोको उच्च जोखिममा परेपछि तत्काल समाधानको खोजी सुरु गरिएको उनले बताए ।
यसै सन्दर्भमा, जोखिमको अवस्था र समाधानका उपायबारे छलफल गर्न संस्थाको आयोजनामा एक उच्चस्तरीय टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, उपप्रमुख प्रभा बोगटी, जिल्ला प्रहरी प्रमुख बिपिन रेग्मी, सशस्त्र प्रहरी बल १९ नं गुल्म प्रमुख गंगा केसी, १ नम्बर शैन्य तालिम केन्द्रका सेनानी अर्जुन थापा, जनप्रतिनिधीलगायत सराेकारवालाको सहभागिता रहेको थियो।

टोलीले पहिरो प्रभावित क्षेत्रको सूक्ष्म निरीक्षण गर्दै थप क्षति हुन नदिन चाल्नुपर्ने कदमबारे स्थानीयसँग समेत छलफल गरेको थियो। स्थानीय सरकार, जिल्ला प्रशासन, सुरक्षा निकाय र उपभोक्ता संस्थाको संयुक्त पहल तथा समन्वयमा पाइपलाइन स्थानान्तरणका लागि नयाँ सुरक्षित स्थान समेत यकिन गरिएको छ।
अनुगमनका क्रममा नगरप्रमुख राजन श्रेष्ठले खानेपानी जस्तो आधारभूत सेवामा अवरोध आउन नदिन नगरपालिकाले आवश्यक समन्वयमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।
प्रमुख जिल्ला अधिकारी रेग्मीले प्राकृतिक विपद्का कारण सिर्जित यो संकटलाई टार्न प्रशासनिक र प्राविधिक सहयोग तत्काल उपलब्ध गराइने बताए।
विदुर खानेपानी संस्थाका सचिव रघुनाथ रिमालले त्रिशुली नदीको कटानका कारण जमिन भासिने क्रम बढ्दै गएको र यसले समग्र विदुर नगरको खानेपानी आपूर्ति प्रणालीमै गम्भीर असर पुर्याउन सक्ने निष्कर्ष निकालिएको जानकारी दिए । मुख्य पाइपलाइन जुनसुकै बेला बग्न सक्ने र यसले बजार क्षेत्रका घरहरूलाई समेत संकटमा पार्ने देखिएकाले पाइपलाइनलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने आवश्यकता औँल्याइएको छ। पाईपलाईनलाई मुख्य सडकखण्डको छेउबाट लाग्न स्थानीयसँग समेत प्रारम्भिक छलफल गरेको छ । यो समस्याको स्थायी समाधानका लागि प्राविधिक पक्ष र सुरक्षाको पाटोलाई ध्यान दिँदै सबै पक्षको सहमति जुटाइने कार्य भईरहेको उनले बताए ।
खानेपानी मुहान मर्मत गर्नेक्रममा रसुवाको कालिका गाउँपालिकामा पर्ने खेतीयोग्य जमिन संरक्षण गर्न बाँध बाध्ने र आवश्यकताको आधारमा डिभिजन सिँचाइ कार्यालयकाे समन्वयमा निर्माण गर्नको लागि संस्था र स्थानीयबीच समझदारी भएको छ।
पाइपलाइन स्थानान्तरणको स्थान तय भएसँगै अब निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाइने संस्थाका कार्यलय प्रमुख राजकुमार तिमिल्सिनाले बताए। यस कार्यले बेत्रावती बजारका जोखिममा रहेका घर परिवारलाई राहत मिल्ने र विदुर नगरपालिकाका हजारौँ उपभोक्ताको भान्सासम्म पुग्ने खानेपानीको सुनिश्चितता हुने विश्वास लिइएको उनले बताए।
आजै संस्थाले वैकल्पिक खानेपानी प्रयोजनको लागि निर्माण गरेको विदुर नगरपालिका वडा नं २ स्थित तादी खोलामा निर्माण गरिएको समवेलमार्फत् सोहि वडाको रातोडाँडा माथि निर्माण गरिएको ट्याङ्कीसम्म पानी पुर्याउने कार्यको सफल परीक्षण गरिएको छ ।






























































प्रतिक्रिया