चैत ९, नुवाकोट । सशस्त्र द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूको छानबिन गर्न गठित सत्य निरुपण तथा मेलमिलाप आयोगमा नुवाकोट जिल्लाबाट उजुरी दिनेहरूको संख्या उल्लेख्य देखिएको छ।
आयोगको पछिल्लो प्रतिवेदन अनुसार, संक्रमणकालीन न्यायको आशामा नुवाकोटका ५ सय ५९ पीडित र तिनका परिवारले उजुरी दर्ता गराएका छन्। आयोगको तथ्यांक अनुसार नुवाकोटबाट प्राप्त उजुरीहरूमा हत्या, अंगभंग, विस्थापन र सम्पत्ति कब्जाका घटनाहरू मुख्य छन्।
| क्र.सं. | पालिकाको नाम | पुरानो उजुरी | नयाँ उजुरी | जम्मा उजुरी |
| १ | सूर्यगढी | ३३ | २१ | ५४ |
| २ | शिवपुरी | ११ | ३ | १४ |
| ३ | विदुर | ५२ | २६ | ७८ |
| ४ | म्यागङ | २४ | ५ | २९ |
| ५ | लिखु | २४ | ३८ | ६२ |
| ६ | दुप्चेश्वर | ९ | ९ | १८ |
| ७ | तारकेश्वर | १५ | ३ | १८ |
| ८ | तादी | २० | २६ | ४६ |
| ९ | किस्पाङ | ३७ | ७८ | ११५ |
| १० | बेलकोटगढी | ४८ | २७ | ७५ |
| ११ | पञ्चकन्या | २१ | ८ | २९ |
| १२ | ककनी | १२ | ९ | २१ |
| कुल | जम्मा | ३०६ | २५३ | ५५९ |
चालु आर्थिक वर्षको चैत ८ गतेसम्मको अद्यावधिक विवरण अनुसार सबैभन्दा बढी उजुरी किस्पाङ गाउँपालिकाबाट ११५ र सबैभन्दा कम उजुरी शिवपुरी गाउँपालिकाबाट १४ ओटा उजुरी परेको छ। विदुर नगरपालिकाबाट ७८, बेलकोटगढी नगरपालिकाबाट ७५, किस्पाङ गाउँपालिकाबाट ११५, सुर्यगढी गाउँपालिकालगायत नुवाकोटका अन्य पालिकाबाट कुल ५ सय ५९ पीडित र तिनका परिवारले उजुरी दर्ता गराएका छन्।
उजुरीहरूमध्ये अधिकांश तत्कालीन राज्यपक्ष र विद्रोही पक्ष दुवैबाट भएका गम्भीर मानव अधिकार उल्लंघनका घटनासँग सम्बन्धित छन्। आयोगमा पदाधिकारीहरूको नियुक्ति र ऐन संशोधनमा भएको ढिलाइले गर्दा पीडितहरूले लामो समयदेखि न्याय पाउन सकेका छैनन्।
आयोगले यो सातामा जिल्लास्तरबाटै उजुरी लिने कार्य गरिरहेको आयोगका अध्यक्ष महेश थापाले जानकारी दिए । धेरै उजुरी परेकाले प्राथमिकतामा राखेर टोली खटाई विवरण तथा उजुरी सङ्कलन गर्ने कार्य भईरहेको छ।
देशभर हालसम्म सत्य निरुपण तथा मेलमिलाप आयोगमा ७८ हजार ९०९ उजुरी दर्ता भइसकेका छन् भने बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा करिब ३ हजार २०० उजुरी विचाराधीन छन् ।

प्रतिक्रिया