कात्तिक ९, नुवाकोट । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको सर्वेक्षणको प्रारम्भिक विवरण अनुसार बाढीका कारण नुवाकोटमा मात्रै हजारौं नागरिकको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ। गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा लेदोसहित आएको विनाशकारी बाढीका कारण प्रभावित जिल्लाभन्दा नुवाकोट सबैभन्दा बढी प्रभावित हुन पुगेको हो ।
आयोगको प्रतिवेदन अनुसार रसुवा, नुवाकोट, धादिङ र गोरखा गरी चार जिल्लाका १५ वटा स्थानीय तहहरू बाढीबाट प्रभावित भएका छन्। तीमध्ये नुवाकोट जिल्लामा मात्रै सबैभन्दा बढी चारहजार १६४ घरपरिवार तथा प्रतिष्ठानहरू प्रभावित भएको छ।
बाढीको चपेटामा परेर नुवाकोटमा मात्र १७ हजार ९५४ जना मानिस प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। यसरी प्रभावित हुनेहरूमा ठूलो संख्यामा बालबालिका, महिला तथा वृद्धवृद्धाहरू रहेका छन्, जसले गर्दा उनीहरूको दैनिकी अहिले निकै कष्टकर बन्न पुगेको छ।
बाढीले नुवाकोटका ग्रामीण तथा बस्ती क्षेत्रका भौतिक संरचनाहरूमा ठूलो क्षति पुर्याएको छ। नुवाकोटमा एकहजार ६८६ घरधनीका दुईहजार २५६ वटा भवन तथा संरचनाहरूमा क्षति पुगेको छ। ती बाढीले क्षतिग्रस्त बनाएका संरचनाहरूमा मानिसका निजी बासस्थानदेखि गोठ, टहरा र अन्य भौतिक संरचनाहरू समेत समेटिएका छन्। घरमा लेदो र बालुवा भरिएका कारण धेरै परिवार अहिले आश्रयविहीन भई अस्थायी क्याम्प वा छिमेकीको शरणमा बस्न बाध्य भएका छन्।
भौतिक संरचनासँगै नुवाकोटको अर्थतन्त्रको मेरुदण्ड मानिने व्यावसायिक प्रतिष्ठानहरूमा पनि ठूलो क्षति पुगेको छ। सर्वेक्षणका अनुसार नुवाकोटमा मात्रै ९६२ वटा व्यावसायिक प्रतिष्ठान तथा उद्योगहरू प्रभावित भएका छन्। यस क्षेत्रमा मुख्यतया खुद्रा तथा थोक व्यापार, कृषि तथा खाद्य सेवा सञ्चालन गरिरहेका साना तथा मझौला व्यवसायीहरू बढी मारमा परेका छन्। यसले स्थानीय स्तरको आर्थिक गतिविधिलाई ठप्प बनाइदिएको छ।