कात्तिक ९, नुवाकोट । गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा लेदोसहित आएको विनाशकारी बाढीले नुवाकोट, रसुवा र धादिङमा ठूलो धनजनको क्षति पुर्यायो।
बाढीको तीव्र बहावले घरबारसँगै धेरै स्थानीयका नागरिकतालगायतका अति आवश्यक कागजातहरू पनि बगाएको वा नष्ट पारेको थियो।
अहिले नुवाकोटमा अस्थायी रूपमा बसोबास गरिरहेका रसुवाको उत्तरगया गाउँपालिकाका बाढीपीडितहरूलाई राहत तथा पुनःस्थापनाका काममा सहज होस् भन्ने हेतुले उनीहरू बसिरहेकै ठाउँबाट नागरिकताको प्रतिलिपि उपलब्ध गराउन थालिएको छ।
स्थानीयलाई नागरिकता नहुँदा थप सास्ती नहोस् र प्रशासनिक काममा ढिलाइ नहोस् भनेर टोली नै खटाएर होल्डिङ सेन्टरमै पुगी सेवा दिन सुरु गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कमलप्रसाद पाण्डेले जानकारी दिए।
यसै क्रममा आइतबार विदुर नगपालिका-५ पिपलटारमा बसिरहेका उत्तरगया गाउँपालिका वडा नम्बर १ का दुईसय दुई जना बाढीपीडितको नागरिकता प्रतिलिपिका लागि आवेदन फाराम संकलन गरिएको जनाएको छ।
नागरिकलाई झन्झटमुक्त सेवा दिनका लागि होल्डिङ सेन्टरमै पुगेर फाराम संकलन गर्ने, त्यसलाई जिल्ला प्रशासन कार्यालय रसुवा ल्याएर प्रमाणीकरण र प्रिन्ट गर्ने, अनि पुनः होल्डिङ सेन्टरमै पुगेर पीडितको हातमा नागरिकता थमाइदिने गरी मिलाइएको प्रजिअ पाण्डेले बताए ।
गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालका अनुसार पहिलो चरणमा नागरिकता वितरणलाई प्राथमिकता दिइएको र लगत्तै अन्य आवश्यक प्रशासनिक सेवाहरू पनि यसैगरी क्रमशः उपलब्ध गराउँदै लगिनेछ।
जिल्ला प्रशासन कार्यालय रसुवा र उत्तरगया गाउँपालिकाको सहकार्यमा सुरु भएको अभियानमा रसुवाका सुरक्षा निकायका प्रमुखहरूको प्रत्यक्ष सहभागिता रहेको थियो।