+
Search

ताजा अपडेट +

पपुलर +

जीवित देवी नुवाकोटकी कुमारी संरक्षण र बासस्थानका लागि सरोकारवाला निकायसँग अपिल

सुनील श्रेष्ठ
१० मिनेट अगाडी

कार्तिक ३, नुवाकोट । मौलिक कला, संस्कृति र परम्परागत ऐतिहासिक सम्पदाको जीवन्त प्रतीकका रूपमा रहेकी नुवाकोटकी जीवित देवी कुमारीको वर्तमान अवस्थालाई लिएर सांस्कृतिक क्षेत्रका अभियन्ताहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

पुस्तौँदेखि निरन्तर चलिआएको यो अमूल्य सांस्कृतिक परम्परा उचित व्यवस्थापन, आवश्यक सेवासुविधा र छुट्टै बासस्थानको अभावका कारण संकटमा पर्दै गएको भन्दै यतिबेला चौतर्फी ध्यानाकर्षण गराउन थालिएको छ।

नुवाकोटमा ११औँ कुमारीको कालान्तरमा आईपुग्दा समेत राज्य र स्थानीयले महत्वका साथ नलिंदा नेपाली संस्कृति र सम्पदाको संरक्षणमा सक्रिय सामाजिक सञ्जाल समूह ‘द नेवार्स’ले एक वक्तव्य जारी गर्दै नुवाकोटकी कुमारीको संरक्षण र व्यवस्थापनका लागि तीनै तहका सरकार तथा सम्बन्धित निकायहरू तत्काल जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।

द नेवार्सका अनुसार काठमाडौँ उपत्यका बाहिर अस्तित्वमा रहेको यो दुर्लभ सांस्कृतिक परम्परालाई जोगाउनु राज्य, स्थानीय सरकार र सम्पूर्ण सांस्कृतिक समुदायको साझा दायित्व हो।

नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नुवाकोटकी कुमारीको वर्तमान वस्तुस्थिति, दैनिकी र वास्तविक आवश्यकताहरूबारे गम्भीरतापूर्वक स्थलगत अध्ययन गर्नुपर्ने माग गरिएको छ।

कुमारीको मान-मर्यादा, नियमित सञ्चालन र दीर्घकालीन संरक्षणका लागि राज्यका तर्फबाट ठोस नीतिगत योजना र बजेट सुनिश्चित हुनुपर्ने अभियन्ताहरूको भनाइ छ।

यसैगरी, ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको मुख्य पालक मानिने पुरातत्त्व विभागबाट प्राप्त भइरहेको हालको सहयोग अपर्याप्त रहेको औँल्याउँदै विभागले प्राविधिक तथा आर्थिक सहयोगका कार्यक्रमहरू थप विस्तार गर्नुपर्ने आवश्यकता दर्शाइएको छ।

स्थानीय स्तरमा सम्बन्धित नगरपालिकाले वार्षिक रूपमा केही सहयोग पुर्‍याउँदै आएको भए तापनि त्यो पर्याप्त नभएको बताइएको छ। कुमारीको नियमित पूजाआजा, शिक्षा, स्वास्थ्य र दीर्घकालीन हेरचाहका लागि नगरस्तरबाट अझ प्रभावकारी र दिगो बजेटको व्यवस्था गरिनुपर्ने जोड दिइएको छ।

सबैभन्दा संवेदनशील विषय भनेको कुमारीका लागि सुरक्षित, सम्मानजनक र परम्परागत मर्यादा अनुकूलको छुट्टै बासस्थान नहुनु हो। काठमाडौँको कुमारी घरजस्तै नुवाकोटमा पनि कुमारीको दैनिक जीवन र धार्मिक विधि सहज बनाउन छुट्टै व्यवस्थित आवास निर्माण गर्न सम्बन्धित निकायले विलम्ब नगरी कदम चाल्नुपर्ने माग उठाइएको छ।

समयमै उचित संरक्षण, सम्मानजनक वातावरण र आवश्यक सेवासुविधाको निश्चित गर्न नसकिएमा भविष्यमा कुमारी बन्न इच्छुक तथा योग्य बालिकाहरूको अभाव हुन सक्ने चिन्ता समेत व्यक्त गरिएको छ। यदि धार्मिक र सांस्कृतिक मापदण्ड अनुसार योग्य व्यक्ति नपाइने स्थिति आएमा शताब्दीऔँ पुरानो यो ऐतिहासिक परम्परा नै सदाका लागि लोप हुन सक्ने जोखिम उत्पन्न भएको छ।

कुमारी केवल कुनै खास समुदाय वा धार्मिक आस्थाको प्रतीक मात्र नभएर सिङ्गो राष्ट्रको इतिहास, मौलिक संस्कृति र पहिचानको अमूल्य धरोहर हुन्। आजका दिनमा हाम्रा यस्ता जीवन्त सम्पदाहरूको संरक्षणमा उपेक्षा गरियो भने भोलिका पुस्ताले आफ्नो पहिचान गुमाउने निश्चित छ। त्यसैले नुवाकोटकी कुमारीको वर्तमान अवस्थालाई गम्भीरतापूर्वक लिँदै संस्कृति मन्त्रालय, पुरातत्त्व विभाग, स्थानीय नगरपालिका र सम्पूर्ण सरोकारवालाहरूलाई एकीकृत रूपमा जिम्मेवार पहल कदम चाल्न अपिल गरिएको छ।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ