कार्तिक ६, नुवाकोट । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डा. धर्मराज उप्रेतीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुका लागि स्थायी आवास निर्माणको प्रकृया चाँडै सुरु हुने स्पष्ट पारेका छन् ।
प्रभावितहरुको यकिन तथ्याँक प्राप्त भईसकेपछि आवश्यक कार्यबिधि बनाएर स्थायी आवास निर्माणको प्रकृया सुरु गरिने डाक्टर उप्रेतीको भनाई छ ।
शुक्रबार नुवाकोटको सदरमुकाम विदुरमा रेडक्रसको नुवाकोट शाखाले आयोजना गरेको कार्यक्रममा डाक्टर उप्रेतीले बाढी प्रभावितहरुका लागि तत्काल अस्थायी आवास निर्माणको काम सुरु गरिने र स्थायी आवासमा प्रभावितहरु सरेपछि अस्थायी आवासलाई समुदायले नै सञ्चालन गर्ने गरि ‘होमस्टे’का रुपमा बिकसित गरिने समेत प्रष्ट्याए । त्यसक्रममा प्रमुख कार्यकारी डा. उप्रेतीले बाढी प्रभावितहरुको पुनस्र्थापना कार्यलाई सरलीकृत बनाउने र बिकास साझेदारहरुसंगको साझेदारीलाई प्रभावकारी बनाउने गरि कार्यक्रमहरु तर्जुमा गरिएको समेत उल्लेख गरे ।
त्यसक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय अध्यक्ष डा. बिशालकुमार भण्डारीले रेडक्रसको अन्तराष्ट्रिय गरिमा र साखलाई उचो बनाउँदै प्रभावितहरुको पक्षमा क्रियाशिल हुनुपर्नेमा जोड दिँदै पारदर्शी र प्रभावकारीरुपमा हुने काममा स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए । रेडक्रसको स्थापना नै मानवीय सेवाका लागि भएकाले बाढी प्रभावितहरुले विपदमा रेडक्रस भन्ने अनुभूति गर्ने गरी काम गर्न रेडक्रसकर्मीहरुलाई उनले निर्देशन समेत दिए ।
कार्यक्रममा नुवाकोट रेडक्रसका सभापति हरी श्रेष्ठले गत भदौ १० गतेको बाढीपछि रेडक्रस मार्फत भएका गतिबिधि, चुनौति र आबश्यक कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए ।
यसैक्रममा शुक्रवार नै राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डा. उप्रेती, रेडक्रसका केन्द्रीय सभापति डा. भण्डारी, ईन्टरनेशनल फेडेरेशन अफ रेड क्रिसेन्ट (आईएफआरसी)का नेपाल प्रमुख डेभिड फिसर, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितको टोलीले बिदुर नगरपालिका वडा नम्वर ५ मा रहेको आश्रयस्थलहरुको अवलोकन समेत गरेको थियो । त्यसक्रममा बाणाको चौतारा, कोदोबारी र तल्लो पिपलटारमा आश्रय लिईरहेका प्रभावितहरुले बर्तमानको प्रमुख समस्या भनेको पुनर्बास नै भएकाले चाँडै त्यसका लागि आवश्यक प्रकृया सुरु हुनुपर्ने धारणा ब्यक्त गरेका थिए ।