९ चैत, नुवाकोट । विदुर नगरपालिकाका सात वटा वडाहरुमा खानेपानी आपूर्ति गर्दै आईरहेको विदुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले खानेपानीको दिगो र व्यवस्थित बनाउने उद्देश्यका साथ सरोकारवालाहरूसँग महत्त्वपूर्ण बैठक बसेको छ । बैठकले वैकल्पिक स्रोतको परिचालन, पूर्वाधार विस्तारमा आइपरेका अवरोध हटाउने र संस्थागत पारदर्शिता कायम गर्ने लगायतका ८ बुँदे कार्ययोजना पारित गरेको छ।
संस्थाको कार्यालयमा सोमबार बसेको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीको, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, २ नम्बरका वडा अध्यक्ष दिपक कायस्थ १० नम्बरका गणेशकुमार नेपाल, १ नम्बर शैन्य तालिम केन्द्रका प्रमुख दिपक राईलगायत निर्माण पक्ष र सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।
बैठकमा वैकल्पिक स्रोतका रूपमा निर्माण गरिएको विदुर नगरपालिका-२ स्थित तादी खोला किनारमा निर्माण गरिएको सम्पवेलको कार्य सम्पन्न भई प्रारम्भिक परीक्षण समेत भइसकेको विदुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष संजिवबहादुर श्रेष्ठले जानकारी दिए। निर्माण व्यवसायी र आयोजना पक्षबाट प्राप्त पत्रका आधारमा उपस्थित सरोकारवालाहरूले स्थलगत निरीक्षण गरिने उनले बताए ।
बैठकले गल्छी–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाअन्तर्गत बेत्रावती बजार खण्डमा पाइपलाइन स्थानान्तरण गर्ने निर्णय गरेको छ। प्राकृतिक प्रकोपका कारण क्षतिग्रस्त र जोखिममा परेको मुख्य पाइपलाइनलाई सडकको मापदण्डभित्र रहने गरी सुरक्षित स्थानमा सार्ने निर्णय भएको छ। यस कार्यमा प्राविधिक जटिलता आउन नदिन सबै सरोकारवाला पक्षले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।
खानेपानीको मुख्य फलाखु खोला मुहानमा निर्माणाधीन ईन्टेकको निर्माणलाई तीव्रता दिने निर्णय गरिएको छ। विगतका अवरोधहरूलाई पन्छाउँदै आगामी वर्षायाम सुरु हुनुअघि नै निर्माण कार्य सम्पन्न गर्न पहल गरिने निर्णय गरेको छ। साथै, निर्माणस्थलमा प्रयोग हुने उपकरणहरू स्थानीयले जथाभावी अन्यत्र लैजाने प्रवृत्तिलाई निरुत्साहित गर्दै अबदेखि समितिको सिफारिस अनिवार्य रहने गरिएको छ।
बैठकमा खानेपानीको चरम दुरुपयोग नियन्त्रण गर्ने विषयमा गम्भीर छलफल भएको छ। खानेपानी आपूर्ति गर्दै आईरहेको केही क्षेत्रमा पानीको अनावश्यक खेर फाल्ने प्रवृत्तिले गर्दा २४सै घण्टा आपूर्ति गर्न समस्या परेको ठहर गर्दै दुरुपयोग गर्ने उपभोक्तालाई संस्थाको नियमानुसार सचेत गराइने भएको छ। यदि अटेर गरेमा संस्थागतको साथै कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन उपस्थित सबै पक्षले ऐक्यबद्धता जाहेर गरेका छन्।
उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी पानीको शुद्धीकरण र गुणस्तर परीक्षणलाई थप सुदृढ बनाइने भएको छ। संस्था र जनस्वास्थ्य कार्यालय नुवाकोटको परीक्षणबाट हाल वितरण भइरहेको पानी पिउन योग्य रहेको पुष्टि भएतापनि आगामी दिनमा पानी शुद्धिकरण गर्ने विधि ‘ब्लिचिङ’ र ‘आलम’को प्रयोगलाई निरन्तरता दिइनेछ। पानीको शुद्धतासम्बन्धी विवरण नियमित रूपमा आम उपभोक्तालाई जानकारी गराउने व्यवस्था समेत मिलाइने जनाएको छ।
संस्थाको आर्थिक पारदर्शितामा नयाँ कार्यसमितिले विशेष जोड दिइएको छ। संस्थाको वित्तीय अवस्थाप्रति उपभोक्ताको विश्वास आर्जन गर्न अबदेखि हरेक महिनाको आयव्यय सार्वजनिक गरिने भएको छ। यस कदमले संस्थामा सुशासन कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया