१९ फागुन, नुवाकोट । आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले सम्भावित स्वास्थ्य जोखिम र अनपेक्षित घटनाहरूको प्रभावकारी व्यवस्थापनका लागि विशेष तयारी सुरु गरेको छ।
निर्वाचनका क्रममा नागरिकको सुरक्षालाई सुनिश्चित गर्न मन्त्रालयले आज प्रदेश अन्तर्गतका सबै स्वास्थ्य निकायहरूलाई विशेष निर्देशन जारी गर्दै उच्च सतर्कता अपनाउन आह्वान गरेको हो।
मन्त्रालयको निर्देशन अनुसार बागमती प्रदेशका १३ वटै प्रादेशिक अस्पतालहरूले निर्वाचन अवधिभर २४ सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्नुपर्नेछ। प्रत्येक अस्पतालमा ‘इलेक्सन मेडिकल टास्क फोर्स’ गठन गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा राख्न र पर्याप्त औषधि, उपकरण एवं एम्बुलेन्स सेवाको सुनिश्चितता गर्न मन्त्रालयले कडा आदेश दिएको छ।
निर्वाचनको समयमा हुन सक्ने कुनै पनि अप्रिय घटना वा दुर्घटनाबाट घाइते हुने नागरिकका लागि मन्त्रालयले निःशुल्क उपचारको व्यवस्था गरेको छ।
स्वास्थ्य सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै निर्वाचन अवधिभर कुनै पनि बिरामीले सेवाबाट वञ्चित हुनु नपर्ने गरी सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न मन्त्रालयले आफ्ना सबै संयन्त्रहरूलाई परिचालन गरेको जनाएको छ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश सरकार नागरिकको जीवन र स्वास्थ्य रक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। उनले निर्वाचनलाई स्वस्थ, सुरक्षित र मर्यादित वातावरणमा सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा गर्दै, स्वास्थ्य क्षेत्रबाट प्रदान गरिने सेवामा कुनै कमी हुन नदिने दृढता समेत व्यक्त गरेका छन् ।


















प्रतिक्रिया