१८ फागुन, नुवाकोट । गत २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण बनेको थियो । यस निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले प्रमुख भूमिका निर्वाह गरेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ दलहरूले अप्रत्यासित नतिजा प्रदर्शन गरेको थियो ।
निर्वाचनमा नुवाकोटमा नयाँ राजनीतिक दलहरूको उदय हुनुमा विभिन्न राजनीतिक र सामाजिक कारकहरूले भूमिका खेलेको देखिन्छ। मुख्य रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परम्परागत शक्ति सन्तुलनलाई चुनौती दिँदै नयाँ शक्तिको रूपमा आफ्नो दरिलो उपस्थिति जनाएको थियो ।
बागमती प्रदेशका नुवाकोट जिल्ला क्षेत्र नं. १ र क्षेत्र नं. २ गरी दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विभाजित छ । यो जिल्ला राजनैतिक इतिहासमा नेकपा (एमाले) र नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिन्थ्यो । तर २०७९ मा गठबन्धन र नयाँ राजनीतिक धाराले परिणामलाई फरक बनाएको थियो ।

नुवाकोट जिल्लाको कुल जनसंख्या करिब २ लाख ७६ हजार छ भने मतदाता संख्या २ लाख ३९ हजार ७२६ थियो। पुरुष मतदाता १ लाख २३ हजार ९४१ र महिला १ लाख १५ हजार ७८२ थिए। निर्वाचनमा मतदान प्रतिशत राष्ट्रिय औसतभन्दा कम रह्यो । प्रत्यक्षतर्फ औसत ५४ प्रतिशत र समानुपातिकतर्फ ५३.८ प्रतिशत जति मत खसेको थियो । यसले मतदाताको निराशा वा राजनीतिक जटिलताप्रति असन्तुष्टि झल्काएको थियो ।
नयाँ राजनीतिक शक्तिहरूको उदयमा युवा पुस्ताको मत निर्णायक देखिएको थियो । नयाँ दलहरूले ल्याएको एजेन्डा र नवीनताले युवा मतदाताहरूलाई आकर्षित गरेको थियो । नयाँ पुस्ताको चाहना र पुराना दलहरूप्रतिको वितृष्णाले गर्दा नयाँ राजनीतिक शक्तिहरूको उदय भएको थियो।
क्षेत्र नं. १ : अप्रत्यासी जित

| क्र.सं. | उम्मेदवारको नाम | दल | प्राप्त मत | प्रतिशत (%) |
|---|---|---|---|---|
| १ | हितबहादुर तामाङ | नेकपा (माओवादी केन्द्र) | २६,५४८ | ४४.२३ |
| २ | बद्री मैनाली | नेकपा (एमाले) | २३,४६५ | ३९.०९ |
| ३ | प्रधुमन/पद्युम्न महत क्षेत्री | राष्ट्रिय स्वतन्त्र पार्टी | ६,११३ | १०.१८ |
| ४ | सुदर्शन सिटौला | राष्ट्रिय प्रजातन्त्र पार्टी | १,६११ | २.६८ |
| अन्य | – | अन्य दल/स्वतन्त्र | २,२८४ | ३.८१ |
| जम्मा सदर | – | – | ६०,०२१ | १०० |
नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा कुल मतदाता १ लाख २० हजार ७५२ थिए। नतिजाअनुसार प्रत्यक्ष निर्वाचनमा खसेको मत ६३ हजार ५८६ (५२.६६ प्रतिशत) थियो। ६० हजार २१ सदर मत र बदर मत ३ हजार ५६५ रहेको थियो ।
नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङले २६ हजार ५४८ मत प्राप्त गरी विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बद्री मैनालीले २३ हजार ४६५ मत ल्याएका थिए। मतान्तर ३ हजार ८३ मत थियो।
तेस्रो स्थानमा नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रधुम्न महत क्षेत्रीले ६ हजार ११३ मत प्राप्त गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदर्शन सिटौलाले १ हजार ६११ मत ल्याएका थिए । अन्य उम्मेदवारहरूले कुल २ हजार २८४ मत प्राप्त गरेका थिए ।
यो क्षेत्रमा २०७४ मा बामगठबन्धनबाट नै हितबहादुर तामाङले ३६ हजारभन्दा बढी मत ल्याएर जितेका थिए। तर २०७९ मा मत घटेको थियो । जसलाई गठबन्धनको प्रभाव र मतदाता आधारको विभाजनसँग जोड्न सकिन्छ। एमालेले परम्परागत बलियो आधार भए पनि गठबन्धनको एकीकृत मतले जित हासिल गर्न सकेको थिएन । रास्वपाको उदयले नयाँ पुस्ताको मत आकर्षित गरेको थियो ।
| दल | प्राप्त मत (सदर) |
|---|---|
| नेकपा (एमाले) | १६,२६७ |
| नेपाली कांग्रेस | १५,७५१ |
| नेकपा (माओवादी केन्द्र) | १५,१२७ |
| राष्ट्रिय स्वतन्त्र पार्टी | ५,४४९ |
| राष्ट्रिय प्रजातन्त्र पार्टी | ४,०४९ |
| नेकपा (एकीकृत समाजवादी) | ५०५ |
| अन्य दलहरू (बाँकी) | ≈ १,८८५ |
| जम्मा सदर | ५९,१३३ |
नतिजाअनुसार समानुपातिकतर्फ खसेको मत ६२ हजार १३२ (५१.४६ प्रतिशत) थियो भने सदर मत ५९ हजार १३३ र बदर २ हजार ९९९ रहेको थियो ।
एमालेले १६ हजार २६७ मत ल्याएर शीर्ष स्थान कायम राख्न सफल भएको थियो ।
नेपाली कांग्रेसले १५ हजार ७५१, माओवादी केन्द्रले १५ हजार १२७ मत प्राप्त गरेका थिए ।
रास्वपाले ५ हजार ४४९ र राप्रपाले ४ हजार ४९ मत ल्याएका थिए ।
एकीकृत समाजवादीले ५०५ मत प्राप्त गरेका थिए ।
यो परिणामले एमालेको आधार बलियो रहे पनि प्रत्यक्षमा गठबन्धनले जित हासिल गरेको देखाउँछ।
क्षेत्र नं. २ : कांग्रेसको स्पष्ट जित, रास्वपाको आश्चर्यजनक प्रदर्शन

| क्र.सं. | उम्मेदवारको नाम | दल | प्राप्त मत | प्रतिशत (%) |
|---|---|---|---|---|
| १ | अर्जुन नरसिंह के.सी. | नेपाली कांग्रेस | २८,१०७ | ४४.६१ |
| २ | सुमनविक्रम पाण्डे | राष्ट्रिय स्वतन्त्र पार्टी | १६,४७७ | २६.१५ |
| ३ | नारायणप्रसाद खतिवडा | नेकपा (एमाले) | १५,५६१ | २४.७० |
| ४ | झनक प्याकुरेल | राष्ट्रिय प्रजातन्त्र पार्टी | १,५७१ | २.४९ |
| अन्य | – | अन्य दल/स्वतन्त्र | १,२८८ | २.०४ |
| जम्मा सदर | – | – | ६३,००४ | १०० |
नुवाकोटको निर्वाचन क्षेत्र नं. २ मा कुल मतदाता १ लाख १८ हजार ९७४ थिए। प्रत्यक्षतर्फ ६६ हजार ११९ (५५.५७ प्रतिशत) मत खसेको थियो। ६३ हजार ४ सदर मत र ३ हजार ११५ मत बदर भएको थियो ।
नेपाली कांग्रेसका अर्जुननरसिंह के.सी.ले २८ हजार १०७ मत ल्याएर विजयी भएका थिए ।
दोस्रो स्थानमा रास्वपाका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत प्राप्त गरेका थिए ।
एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मत ल्याएका थिए ।
राप्रपाका झनक प्याकुरेलले १ हजार ५७१ मत प्राप्त गरेका थिए ।
अन्यले १ हजार २८८ मत ल्याएका थिए भने मतान्तर ११ हजार ६३० मत थियो।
यस क्षेत्रमा कांग्रेसको परम्परागत प्रभाव स्पष्ट थियो। गठबन्धनबाट उम्मेदवार बनेका के.सी.ले स्पष्ट बहुमत ल्याएका थिए । तर रास्वपाले दोस्रो स्थान हासिल गर्दै एमालेलाई तेस्रो स्थानमा झारेको थियो। परिणामले नयाँ दलप्रति युवा मतदाताको आकर्षण देखाउएको थियो ।
| दल | प्राप्त मत (सदर) |
|---|---|
| नेपाली कांग्रेस | २०,०८५ |
| नेकपा (एमाले) | १५,२४८ |
| राष्ट्रिय स्वतन्त्र पार्टी | १०,८३४ |
| नेकपा (माओवादी केन्द्र) | १०,४३४ |
| राष्ट्रिय प्रजातन्त्र पार्टी | ४,४०४ |
| नेकपा (एकीकृत समाजवादी) | ४५३ |
| अन्य (मंगोल नेशनल, हाम्रो नेपाली आदि) | ≈ १,२५१ |
| जम्मा सदर | ≈६३,७०९ |
समानुपातिकतर्फ ६६ हजार ८५३ (५६.१९ प्रतिशत) मत खसेको थियो भने सदर मत करिब ६३ हजार ७०९ थियो ।
कांग्रेसले २० हजार ८५ मत ल्याएर शीर्ष स्थान कायम राखेको थियो । एमालेले १५ हजार २४८, रास्वपाले १० हजार ८३४ र माओवादी केन्द्रले १० हजार ४३४ मत प्राप्त गरेका थिए । राप्रपाले ४ हजार ४०४ र एकीकृत समाजवादीले ४५३ मत ल्याएका थिए । अन्य दलहरूले बाँकी मत प्राप्त गरेका थिए ।
राजनीतिक परिवर्तन
२०७९ को निर्वाचनले नुवाकोटमा राजनीतिको प्रभावकारिता देखाएको थियो । क्षेत्र नम्बर १ मा माओवादी र क्षेत्र नम्बर २ मा कांग्रेसले जित हासिल गरेका थिए । तर समानुपातिक मतले एमालेको आधार अझै बलियो रहेको थियो ।
रास्वपाले दुवै क्षेत्रमा उल्लेख्य मत ल्याएर राष्ट्रियस्तरमा आफ्नो स्थान बनाएको थियो । जसले पुराना र देशमा गणतन्त्र ल्याएका प्रमुख राजनैतिक दलहरूलाई चुनौती दिएको थियो ।
निर्वाचनले मतदान प्रतिशत कम हुनुले मतदातामा राजनीतिक दलप्रतिको विश्वास घटेको थियो । बदर मतको संख्या पनि उल्लेख्य थियो । जसले मतदाता शिक्षाको कमी रहेको प्रष्ट देखिन्थ्यो ।
निर्वाचनको परिणामले नुवाकोटमा परम्परागत दुई ध्रुवीय राजनीतिबाट बहुध्रुवीयतातर्फको यात्रा सुरु गरेको देखिन्थ्यो । रास्वपा जस्ता दलहरूको उदयले भावी निर्वाचनमा नयाँ समीकरण बन्न सक्ने सम्भावना बढाएको थियो ।



















प्रतिक्रिया