असार ११, नुवाकोट । म्यागङ गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को बजेट कुल ४४ करोड ९२ लाख ६४ हजार ८८० रुपैयाँ रहेको छ।
गाउँपालिकाको १८औं गाउँसभामा सर्वसम्मत पारित भएको वार्षिक बजेट तथा कार्यक्रमअनुसार पालिकामा बागमती प्रदेशबाट पनि समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान प्राप्त हुने उल्लेख छ। गाउँपालिकाको आन्तरिक राजस्व र बाँकी बैंक मौज्दातलाई पनि स्रोतमा समावेश गरिएको छ।
बजेटमा व्ययतर्फ कुल बजेटको ७२ प्रतिशत अर्थात् ३२ करोड ४७ लाख ९३ हजार ८८० रुपैँया चालु तर्फ र २८ प्रतिशत १२ करोड ४४ लाख ६८ हजार रुपैँया पुँजीगत तर्फ विनियोजन गरिएको उल्लेख छ।
गाउँपालिकाको प्रत्येक वडालाई ४० लाख रुपैँयाका दरले कुल २ करोड ४० लाख बजेट छुट्ट्याइएको छ।
प्रशासनिक सुशासन, कार्यालय सञ्चालन र मानव संशाधनमा १० करोड र कृषि, उद्योग, जलस्रोत, शिक्षा, स्वास्थ्य, पूर्वाधार, युवा तथा खेलकुद जस्ता क्षेत्रमा २ करोड ५६ लाख ३३ हजार ८८० रुपैयाँ विनियोजन गरिएको छ।
बजेटले आन्तरिक राजस्व व्यवस्थापन, कर दायरा विस्तार, महिला उद्यमशीलतालाई प्रोत्साहन, उत्कृष्ट करदातालाई पुरस्कृत गर्ने नीति र पूर्वाधार विकासलाई जोड दिएको छ। यसले गाउँबासीको बसाइ आकर्षक बनाउने, बाँझो जग्गालाई उब्जनीमुखी बनाउने र स्थानीय आर्थिक क्रियाकलापलाई बढावा दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया