१५ फागुन, विदुर । आगामी निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक अन्तिम मतदानस्थल र केन्द्रको विवरण अनुसार नुवाकोट जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा सबैभन्दा धेरै मतदाता भएको मतदानस्थल पञ्चकन्या गाउँपालिकामा रहेको देखिएको छ।
उक्त विवरणमा पञ्चकन्या-२ स्थित राष्ट्रिय माध्यमिक विद्यालय जिल्लाकै एक ठुलो मतदानस्थलको रूपमा देखिएको हो।
राष्ट्रिय माविमा कुल ४ हजार भन्दा बढी मतदाता रहेका छन् । तथ्याङ्क अनुसार उक्त मतदानस्थलमा कुल ४ हजार २०४ मतदाता रहेका छन्।
मतदाताको चापलाई मध्यनजर गर्दै मुख्य निर्वाचन कार्यालय नुवाकोटले उक्त स्थलमा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी ४ वटा मतदान केन्द्रहरू निर्धारण गरेको छ।
यसैगरी, पञ्चकन्या गाउँपालिकाकै वडा नं. ५ मा रहेको बच्छला माविमा ३ हजार ३७० मतदाता र लिखु गाउँपालिका वडा नं. ४ को क्षेत्रपाल मावि ३ हजार १९२ मतदाता पनि धेरै मतदाता भएका स्थलहरूको सूचीमा रहेका छन्।
यसैगरी, नुवाकोट निर्वाचन क्षेत्र नं. २ अन्तर्गत म्यागङ गाउँपालिका वडा नं. १ मा रहेको सीता मावि मतदानस्थलमा सबैभन्दा थोरै मतदाता रहेका छन्। यस स्थलमा कुल ४४५ जना मात्र मतदाता रहेका छन् ।
निर्वाचन क्षेत्र नं. १ को राष्ट्रिय माविमा निर्वाचन क्षेत्र नं. २ को सीता माविको तुलनामा करिब साढे नौ गुणा बढी मतदाता रहेका छन्।
नुवाकोटमा निर्वाचन क्षेत्र नं. १ मा १ लाख २३ हजार ९२९ मतदाता र निर्वाचन क्षेत्र नं. २ मा कुल १ लाख २३ हजार ९३९ मतदाता रहेका छन्। निर्वाचन क्षेत्र नं. २ मा १० मतदाता बढी रहेको छ।