४ फागुन, नुवाकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले नुवाकोटमा आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिएको छ।
नेपाली काँग्रेसका सहमहामन्त्री बहादुरसिंह लामाले सोमबार एक अपिल जारी गर्दै पार्टीभित्रको आत्मसमीक्षा र सुधारले कांग्रेसलाई हिजोको भन्दा परिष्कृत र जनमुखी बनाएको बताएका हुन् । पार्टीभित्रको आन्तरिक सुधार र युवा नेतृत्वको बढ्दो आकर्षणलाई मुख्य शक्ति मान्दै कांग्रेसले यसपटक विकास र राजनीतिक स्थिरताको मुद्दालाई प्राथमिकतामा राखेको बताएका छन् ।
विशेष गरी ‘जेनजी’ आन्दोलनको भावनालाई आत्मसात् गर्दै गगन थापा र विश्वप्रकाश शर्मा जस्ता युवा नेताहरूको नेतृत्वदायी भूमिकाले पार्टी बाहिरका वैचारिक समूहमा समेत उत्साह थपेको दाबी कांग्रेस नेतृत्वले गरेको छ।
पार्टीले नुवाकोट क्षेत्र नम्बर १ का लागि कांग्रेसले पूर्व अर्थमन्त्री एवं अर्थनीतिका ज्ञाता डा. प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित महतको आर्थिक दृष्टिकोण र नीति निर्माणको अनुभवले नुवाकोटको समग्र पूर्वाधार र आर्थिक विकासमा कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ। उनको उम्मेदवारीले जिल्लाको विकासलाई केन्द्रको मूल नीतिसँग जोड्ने रणनीतिक महत्त्व राख्ने विश्लेषण गरिएको छ।
यसैगरी, क्षेत्र नम्बर २ मा अनुभवी नेता जगदीश्वर नरसिंह केसीलाई उम्मेदवार प्रस्तुत गरिएको छ। सहमहामन्त्री लामाले आफू प्रदेशसभाबाट निर्वाचित भएर मुख्यमन्त्रीको जिम्मेवारी सम्हाले पनि हालको विशिष्ट परिस्थिति र जनआकांक्षालाई मध्यनजर गर्दै केसीलाई अघि सारेको स्पष्ट पारेका छन् । लामाले व्यक्तिगत सुविधाभन्दा देश र जनताको आवश्यकता ठूलो हुने तर्क गर्दै केसीलाई नुवाकोटको सामाजिक बनावट र समस्या बुझेको सक्षम नेतृत्वको रूपमा चित्रित गरेका छन् ।
सहमहामन्त्री लामाले आफ्नो कार्यकालमा बागमती प्रदेश सरकारमार्फत् नुवाकोटका गाउँ-बस्तीमा अर्बौ रुपैयाँका योजनाहरू विनियोजन गरेको अपिलमा जनाएका छन् । सडक, पुल, स्वास्थ्य, शिक्षा र खानेपानी जस्ता क्षेत्रमा ५० लाखदेखि ३० करोडसम्मका परियोजनाहरू कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै उनले यी उपलब्धिहरू कांग्रेसको जनउत्तरदायी सोच र सामूहिक प्रयासको परिणाम भएको जनाएको छ । ती योजनाहरूको निरन्तरताका लागि पनि कांग्रेसको जित आवश्यक रहेको उनको जिकिर छ।
कांग्रेसको रणनीति अनुसार केन्द्रमा डा. महत र केसीले नेतृत्व गर्दा प्रदेश र राजनीतिक सङ्गठनको तहमा लामाले समन्वयकारी भूमिका निर्वाह गर्ने साझा संकल्प गरेका छन् । यसले नुवाकोटलाई केन्द्र र प्रदेश दुवै तहबाट समृद्धिको नमूना जिल्ला बनाउने अवसर प्रदान गर्ने नेताहरूको दाबी छ।
प्रतिक्रिया