७ माघ, विदुर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दलहरूलाई आफ्ना चुनावी घोषणापत्रमा निजी क्षेत्रले अघि सारिरहेका अर्थतन्त्र विकाससम्बन्धी एजेण्डालाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
नुवाकोट उद्योग वाणिज्य सङ्घद्वारा आयोजित नवौं नुवाकोट महोत्सवको औपचारिक उद्घाटन गर्दै अध्यक्ष ढकालले मुलुक निर्वाचनमय भएको र सबै दलहरू चुनावी घोषणापत्र तयार गर्ने चरणमा रहेकाले निजी क्षेत्रको प्राथमिकता समेट्नुपर्नेमा जोड दिए ।
“मुलुकको अर्थतन्त्रको विकास सबै दलको साझा एजेण्डा बन्नुपर्छ,” अध्यक्ष ढकालले भने, “त्यसका लागि निजी क्षेत्रका एजेण्डालाई दलहरूले आफ्ना घोषणापत्रमा पहिलो प्राथमिकतामा राख्नुपर्छ। म सबै राजनीतिक दलहरूलाई यो आग्रह गर्दछु कि निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिनुहोस्।”
अध्यक्ष ढकालले रोजगारी सिर्जना, उद्योग–व्यवसाय तथा कलकारखानाको विकास र औद्योगिक विस्तारका लागि निजी क्षेत्रका सुझावहरूले प्राथमिकता पाउनु आवश्यक रहेको बताए। हिजो मुलुकको अर्थतन्त्र संकटमा परेको बेला सरकार र निजी क्षेत्रको संयुक्त प्रयासले आजको अवस्था ल्याइएको स्मरण गर्दै अध्यक्ष ढकालले आगामी दिनमा पनि सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।
“जुनसुकै दलको सरकार आए पनि अर्थतन्त्र सबैको साझा एजेण्डा बन्नुपर्छ,” अध्यक्ष ढकालले भने, “निजी क्षेत्रसँगको सहकार्यलाई सबैले आत्मसात गर्नुपर्छ। आर्थिक वृद्धि भएपछि मात्र सुशासन र समृद्धि सम्भव हुन्छ। त्यसैले आर्थिक एजेण्डालाई साझा बनाउन सबै दल तयार हुनुपर्छ।”
महोत्सवको उद्घाटन समारोहमा नुवाकोट उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू, स्थानीय तहका प्रतिनिधि, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। महोत्सव माघ १७ गतेसम्म सञ्चालन हुनेछ।
अध्यक्ष ढकालको यो आग्रहले आगामी निर्वाचनपछि बन्ने सरकारको प्राथमिकता र नीतिमा निजी क्षेत्रको भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।




















प्रतिक्रिया