२३ पुस, नुवाकोट । त्रिशूली अस्पतालको सेवा प्रवाह, क्लिनिकल अभ्यास तथा भौतिक पूर्वाधार सुदृढीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति भएको विवरण सार्वजनिक गरिएको छ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको एक वर्षे कार्यकाल पुरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकीले अस्पतालले सुशासन, उपचार सेवा र प्रविधि विस्तारमा एकसाथ सुधारात्मक कदम चालेको बताए ।
सार्वजनिक गरिएको प्रगति कार्यविवरणअनुसार अस्पतालमा चिकित्सकहरूको पहिचान सहज बनाउन सूचक प्लेटसहितको परिचयपत्र व्यवस्था गरिएको छ। चिकित्सकहरुको आवासीय व्यवस्थामा सुधार र सहजता गरिएको छ।
बिरामीलाई थप सुविधा प्रदान गर्न बिहान ८ बजेदेखि ओपिडी सेवा सञ्चालनमा ल्याएको छ।
यसैगरी विपन्न तथा असहाय नागरिकको लागि औषधी बैंक स्थापना, चिकित्सक तथा अस्पताल गतिविधि सम्बन्धी जानकारी दिने डिजिटल डिस्प्ले प्रणाली जडान तथा विदुर नगरपालिकाको सहयोगमा पाँच स्वयंसेवक परिचालनजस्ता पहलमार्फत् सेवा पारदर्शी र नागरिकमैत्री बनाउने प्रयास गरिएको छ ।
अस्पतालले प्रविधिमा आधारित सुशासन र व्यवस्थापनमा डिजिटल नागरिक बडापत्रसहित सामाजिक इकाईद्वारा सेवा लिएका सेवाग्राही बिरामीहरुको विवरण डिजिटल डिस्प्ले प्रणालीमा देखाईने व्यवस्था जडान गरिएको छ।
अस्पतालले सुशासनतर्फ अनलाइन टिकटिङ प्रणाली लागू गरिएको छ। जसमा दैनिक करिब १५ जना सेवाग्राही लाभान्वित रहेको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए । अस्पतालले एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीमार्फत आफ्नो वेबसाइटलाई नियमित अध्यावधिक गर्ने गरेको उनले बताए ।
कर्मचारीहरूको जवाफदेहिताका लागि केन्द्रीय पहुँचसहितको ई-हाजिरी प्रणाली सञ्चालनमा ल्याइएको छ। सेवाग्राही सहजताको लागि नि:शुल्क इन्टरनेटको सुविधा व्यवस्था गरेको उनले जानकारी दिए ।
प्रयोगशालाको सेवालाई छिटो बनाउन स्वचालित रिपोर्ट प्रिन्ट गर्ने मेसिन र सेवाग्राही आफैँले स्क्यान गरेर रिपोर्ट लिन सक्ने व्यवस्था मिलाइएको छ। सेवाग्राही आफैले स्क्यान गरी प्रयोगशालाको रिपोर्ट लिन सक्ने व्यवस्था ल्याईएको छ। सेवा सुस्त राख्न प्रयोशालामा अर्थिङ व्यवस्था गरी २४ सै घण्टा सेवा प्रदान गर्दै आई रहेको छ।
बीमा सिफारिस र औषधी वितरणका लागि छुट्टै ओपीडी र मानसिक रोगीका लागि अडियो भिडिओसहितको ‘डार्क रुम’ सेवा सञ्चालनमा छ।
भौतिक तथा औजार विकासअन्तर्गत स्वास्थ्य मन्त्रालयको सहयोगमा दुई थान डायलाइसिस उपकरण थप गरी सेवालाई सुलभ बनाएको छ।
अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकीले यी पहलहरूले सेवा गुणस्तर अभिवृद्धि गर्नुका साथै सेवाग्राहीलाई समयमै, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको बताए ।
उक्त अवधिमा अस्पतालमा टेलिमेडिसिन सेवा, वातावरणमैत्री, सेवाग्राहीको लाईन व्यवस्थापन, बिलिङ काउन्टर थप, अत्याधुनिक भिडिओ एक्स-रे उपकरण थप, बिरामी कुरुवाको सहजतालगायतका अन्य कार्यहरुमा सुधार गरिएको उनले जानकारी दिए ।
दीर्घकालीन योजनाअन्तर्गत करिब ३२ करोड रुपैयाँ लागत अनुमानसहित मातृशिशु स्याहार भवन निर्माण योजना अघि बढाइएको छ । जसका लागि स्थानीय सरकार र सम्बन्धित मन्त्रालयसँग पटक–पटक समन्वय बैठक समेत गरिएको जनाएको छ। साथै, सिटिइभीटी अन्तर्गत नर्सिङ कलेज सञ्चालनार्थ योजना पनि तयारी चरणमा रहेको अस्पतालले जनाएको छ।





















प्रतिक्रिया