+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली अस्पतालमा ४७ हजार २३२ जनाले लिए स्वास्थ्य उपचार सेवा

डबली खबर
८ महिना अगाडी

४ पुस, नुवाकोट । त्रिशूली अस्पतालले चालुआर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक विवरणको सेवा तथ्याङ्क सार्वजनिक गरेको छ।

यस अवधिमा बाह्य बिरामी सेवा (ओपीडी) अन्तर्गत ४७ हजार २ सय ३२ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। सरदर मासिक ११ हजार ८ सय ८ जनालाई सेवा दिएको छ भने प्रतिदिन ३ सय ९४ जनाले स्वास्थ्य उपचार सेवा लिन आउने गरेको देखिएको छ । आपतकालीन, प्रसूति, एक्स–रे, युएसजी, इको, ईसीजी, सिटी स्क्यानजस्ता सेवा उल्लेखनीय संख्यामा प्रदान गरिएको छ।

पहिलो चौमासिकको साउनमा १३ हजार ७ सय २७, भदौमा १४ हजार ६ सय ६९, असोजमा ८ हजार २ सय ११ र कार्तिकमा १० हजार ६ सय २५ जनाले ओपीडी सेवा लिएका छन्। यसले असोजपछि कार्तिकमा सेवा लिने बिरामीको संख्या पुनः बढेको देखाउँछ। चाडपर्वमा बिरामीको चाप कम हुने देखिएको छ ।

आकस्मिक सेवातर्फ चार महिनामा ५ हजार ८ सय ५१ जनाले सेवा लिएका छन्, जसमा साउन महिनामा सबैभन्दा बढी बिरामीले सेवा लिएका छन्। साउनमा १ हजार ५ सय ८८ जनाले सेवा लिएका छन् ।

एक्स–रे सेवा ९ हजार ४ सय ९९, युएसजी ५ हजार २ सय ९४, इको ६२, सिटी स्क्यान ४ सय ३६ तथा ईसीजी सेवा ४ हजार ५ सय ६ जनालाई प्रदान गरिएको तथ्याङ्कमा उल्लेख छ।

प्रसूति सेवातर्फ चार महिनामा कुल २ सय १० सुत्केरी भएका छन्। साउनमा ५०, भदौमा ५५, असोजमा ४६ र कार्तिकमा सबैभन्दा बढी ५९ सुत्केरी भएको तथ्याङ्क छ।

शल्यक्रिया प्रसुतितर्फ चार महिनामा १ सय ३ वटा भएको छ, जसमा कार्तिक महिनामा संख्या तुलनात्मक रूपमा बढी देखिएको छ।

अस्पतालका अनुसार चालु आर्थिक वर्षको सुरुआती चार महिनामै सेवा प्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ।

बढ्दो सेवाग्राहीको चापका बीच पनि गुणस्तरीय, समयमै र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको व्यवस्थापनले जनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ