२२ पुस, नुवाकोट । नेपाल टेलिकमको बजार हिस्सा र ग्राहक संख्या बढ्दै गए तापनि आम्दानी र मुनाफा घटेको छ ।
सरकारी स्वामित्वको नेपालकै ठूलो भनिएको नेपाल टेलिकमको आम्दानी, मुनाफालगायतका पछिल्ला आँकडाहरुमा कमजोर हुँदै गएको देखिएपनि बजार हिस्सा भने बढेको हो ।
टेलिकमको आम्दानी, मुनाफालगायतका तथ्यांकहरुमा पछिल्लो केहि बर्षदेखि लगातार गिरावट आइरहेको कम्पनीले जारी गर्ने वित्तीय विवरणहरुले देखाउँछन् ।
भ्वाईस र अन्तर्राष्ट्रिय कलमा गिरावट
कम्पनीको आम्दानी घट्नुको प्रमुख कारण भ्वाईस टेलिफोन सेवा र अन्तर्राष्ट्रिय कलमा आएको निरन्तर गिरावट हो। चालु आवको मंसिरसम्ममा टेलिकमले सिम वितरणमा एक करोड ५९ लाख सिमकार्ड वितरण गरेको देखिन्छ ।
यो गत आवको सोही अवधिको तुलनामा सात लाखले बढी हो । अर्थात कम्पनीले पछिल्लो एक वर्षमा मात्रै सक्रिय सिमकार्ड अझ भनौं ग्राहकको संख्या सात लाखले थपेको हो ।
ग्राहकहरूले गर्ने भ्वाईस सेवाको प्रयोगमा कमी आएकाले टेलिकमले आम्दानीमा सुधार हुन सकेको छैन ।
ओटीटी प्लेटफर्मको बढ्दो प्रभाव:
सामाजिक सञ्जाल ह्वाट्सएप, भाइबर र मेसेन्जर जस्ता ओटीटी प्लेटफर्महरूको बढ्दो प्रयोगका कारण परम्परागत कल र एसएमएस सेवा प्रभावित भएको छ । जसले गर्दा टेलिकमको आम्दानी घटेको वित्तीय विवरणहरूले देखाउँछन् ।
तथ्यांकका अनुसार, नेपाल टेलिकमले आफ्नो प्रतिस्पर्धी एनसेललाई पछि पार्दै बजार हिस्सा भने बढाएको छ। भ्वाईस सेवामा टेलिकमको हिस्सा ५०.४४ प्रतिशतबाट बढेर ५३.५ प्रतिशत पुगेको छ भने मोबाइल ब्रोडब्याण्डमा पनि आफ्नो हिस्सा ५३ प्रतिशतबाट बढाएर ५६.१३ प्रतिशत पुर्याएको छ।
नेपाल टेलिकमको मोबाइल ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताको संख्या एक करोड ५१ लाख २२ हजार माथि पुग्दा एनसेलका प्रयोगकर्ता भने एक करोड १८ लाख छन् ।
गत आर्थिक वर्षको यहि अवधिमा नेपाल टेलिकमको मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता एक करोड ४० लाख ३९ हजार थियो। एनसेलका ग्राहकको संख्या एक करोड २१ लाख ६३ हजार रहेको जनाएको छ ।
वित्तीय परिसूचकमा गिरावट:
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक विवरण अनुसार कम्पनीको खुद मुनाफामा २३.८२ प्रतिशत छ।
कुल आयमा ५.८८ प्रतिशतको गिरावट आएको छ।
यो गिरावटको प्रवृत्ति विगत ४ आर्थिक वर्षदेखि लगातार जारी रहेको देखिन्छ ।
तर, बजारमा यो वर्चस्व कायम रहँदा पनि परम्परागत आम्दानीका स्रोतहरू खुम्चिएका कारण नाफामा दबाब परेको हो ।





















प्रतिक्रिया