१ पुस, नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट जिल्ला समितिको विस्तारित बैठक शनिबार विदुरमा सम्पन्न भएको छ।
बैठकले आगामी फागुन १ गते हुने निर्वाचनलाई उच्च प्राथमिकतामा राख्दै पार्टीको रणनीतिक तयारीलाई तीव्र बनाउने निष्कर्ष निकालेको छ।
बैठकमा वडा तथा पालिका अधिवेशनका लागि तत्काल मिति तय गरी अधिवेशन सम्पन्न गर्ने, सम्भावना नभएका वडामा तदर्थ समिति गठन गरी पदपूर्ति गर्ने तथा निर्वाचन क्षेत्र समिति समेत सक्रिय बनाउने निर्णय गरिएको छ। साथै, वडा र पालिकास्तरमा आवश्यक कार्यक्रम तय गरी आपसी समन्वयमार्फत कार्यान्वयन गर्ने, संगठनात्मक संरचनालाई क्रियाशील बनाउने र मतदातासँगको सम्पर्क विस्तार गर्ने नीति लिइएको छ।
बैठकले विभिन्न वैकल्पिक राजनीतिक दल, समूह र व्यक्तिसँग सम्बन्ध विस्तार गर्दै पार्टी प्रवेशलाई प्रोत्साहन गर्न जिल्ला पदाधिकारीको नेतृत्वमा समन्वय तथा संवाद समिति गठन गर्ने निर्णय गरेको छ भने डिजिटल प्रचारप्रसार र घरदैलो अभियानलाई पनि तीव्र बनाइने जनाइएको छ।
त्यस्तै, स्वच्छ, निष्पक्ष र मर्यादित प्रारम्भिक निर्वाचन प्रक्रिया पूरा गरी उम्मेदवार छनोट गर्ने तथा नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा पार्टीका घन्टीवाहक उम्मेदवारको जित सुनिश्चित गर्न एकताबद्ध रूपमा परिणाममुखी अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
आवश्यकताअनुसार सबै तहमा पार्टी प्रशिक्षण सञ्चालन गर्ने निर्णयसँगै बैठक सम्पन्न भएको पार्टीले जनाएको छ।





















प्रतिक्रिया