२३ मङ्सिर, नुवाकोट । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत आज पन्ध्रौँ दिन । जिल्ला प्रहरी कार्यालय नुवाकोट र सामुदायिक प्रहरी साझेदारी समितिको संयुक्त आयोजनामा आज भव्य प्रभातफेरी तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
‘प्रविधिको सही प्रयोग गरौं: लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नारा तथा ‘लैङ्गिक हिंसा रहित प्रविधि सुरक्षा र न्यायको विधि’ भन्ने नेपाल प्रहरीको विभागीय नाराका साथ आज बिहान सदरमुकाम विदुरमा विशेष कार्यक्रम आयोजना गरिएको हो।
सामुदायिक प्रहरी साझेदारी नुवाकोट समितिका अध्यक्ष उत्सव अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालको विशेष उपस्थिति रहेको थियो।
विदुर नगरपालिका वडा नं. २ स्थित लोकतान्त्रिक चोकबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो।
कार्यक्रममा जनप्रतिनिधिहरू, त्रिशूली अस्पतालका कर्मचारीहरु, पृथ्वी माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी, नुवाकोट नागरिक समाज तथा नेपाल प्रहरीका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले प्रविधिको दुरुपयोगबाट हुने हिंसा न्यूनीकरण गर्नुपर्ने र पीडितलाई न्यायको पहुँचमा पुर्याउन सबै सरोकारवाला निकाय एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
मंसिर २४ गतेसम्म चल्ने यस अभियानले समाजमा विद्यमान लैङ्गिक विभेद र हिंसा विरुद्ध जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया