३ मङ्सिर, काठमाडौ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले नयाँ पुस्तालाई पार्टीमा कसरी जोड्ने र टिकाउने भन्ने कुरा सोच्नु पर्ने बेला आएको बताएकी छिन् ।
प्रेस चौतारी नेपाल अर्घाखाँचीले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै झाँक्रीले अहिलेको प्रविधि र सिप सिकेको युवालाई पार्टीमा उचित स्थान दिएर परिचालन गर्नुपर्ने बताइन् । नेकपा एमाले हिजो पनि युवाकै जगमा उभिएको पार्टी भएको पनि उनले प्रष्ट पारिन्। ‘हिजो हाइस्कुलको ड्रेसमा गएर पार्टी बनाएको हो नि त, जब ती हुटहुटी भएका मानिसलाई पार्टीमा भर्ती गरिँदैन यो स्थिति त अनिवार्य छ नि, अब तिनीहरूलाई ल्याउने हो, त्यो एमालेले नै ल्याउने हो’, उनले भनिन् ।
कात्तिक २९ गतेको प्रदर्शन मार्फत एमालेले देशै भरि आफ्नो शक्ति देखाएको उनले बताइन्। ‘२९ गते सामान्य हिसाबले भन्दा पनि ७७ जिल्लाबाट ५ लाख मानिस निस्किए, त्यो परिवारमा ४ जना छन् भने त्यो २० लाख मान्छेको शक्ति हो’, उनले भनिन् ।
अहिले निर्वाचन गर्ने स्थिति नभएको उनले बताईन् । हतियार र कैदीहरू बाहिर रहेको अवस्थामा चुनाव हुन नसक्ने उनले स्पष्ट पारिन् । ‘खोसिएका बन्दुक, भागेका कैदी, तिनको जिम्मा कसले लिन्छ ? ती सबैलाई थाती राखेर चुनाव गर्ने भन्ने हो भने हामीले के स्टेटमेन्ट दिने हो हामी गरौँला’, उनले भनिन् ।
आफू विगतको संसद् पुनर्स्थापनाको रिट निवेदक भएको स्मरण गराउँदै उहाँले स्थायित्वको लागि प्रतिनिधि सभा पुनर्स्थापना हुनु पर्ने बताउनुभयो । आफू यही एजेण्डा बोकेको कारण हिजो एमाले छाड्नु पर्ने स्थितिमा सम्म पुगेको उहाँले सुनाउनुभयो ।
अहिले भदौ २३ र २४ को घटनाको छानबिन गर्ने आयोगले प्रतिशोधपूर्ण व्यवहार सुरु गरेको बताइन् । राजनीतिक दलका नेताहरूलाई निर्वाचनमा भाग लिनै नदिने गरी आयोग र सकार लागेको उनले बताइन् ।
नेपालको संविधान ध्वस्त गर्ने, अखण्ड र अक्ष्युण नेपालको इतिहास ध्वस्त गर्ने मानिसहरूको डिजाइन अनुसार भदौ २३ र २४ को घटना भएको उनले बताइन् । त्यसैले प्रतिनिधि सभा पुनर्स्थापना हुनु पर्ने र त्यो अदालतले गर्ने उनले दाबी गरिन् ।
यो पार्टीको मात्र विषय नभएर नेपाली नागरिक र देशको विषय भएको उनले बताइन् । एमाले त्यही मुद्दा बोकेर एमाले हिँडेको उनको भनाइ छ ।



















प्रतिक्रिया