३० कात्तिक, नुवाकोट । गोर्खा मिडिया यूकेको आयोजनामा गत ३१ अगस्टमा भएको ‘ए म्युजिक सोलो विथ पवित्रा गुरुङ एण्ड डीएमटी ब्यान्ड च्यारिटी नाइट’ बाट सङ्कलित रकम नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ स्थित गोल्फुभन्ज्याङ माध्यमिक विद्यालय तथा गाउँको समाजघर निर्माणमा खर्च गर्ने निर्णय गरिएको छ ।
कात्तिक २७ गते गायिका गुरुङको उपस्थितिमा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले जम्मा सङ्कलित ९ लाख १२ हजार ६ सय ८० रूपैयाँमध्ये १ लाख रुपैयाँ समाजघर निर्माणका लागि र ८ लाख १२ हजार ६ सय ८० रुपैयाँ विद्यालयको घेराबार तथा प्रवेशद्वार निर्माणमा खर्च गर्ने निर्णय गरेको विद्यालयले जनाएको छ।
गायिका गुरुङले च्यारिटी नाइटमा साथ र सहयोग प्रदान गर्ने बेलायतवासी नेपालीप्रति आभार व्यक्त गर्दै विद्यालयको भौतिक पूर्वाधार सुधारका काम छिटै सुरु हुने विश्वास व्यक्त गरेकी छन्।
“मेरो आफ्नै विद्यालयका लागि केही सहयोग गर्ने अवसर पाउनु मेरो लागि ठूलो भाग्य हो। यो सम्भव बनाउन मद्दत गर्ने सबै सहयोगी हातहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु,”-गुरुङले भनिन्।
सोही अवसरमा विद्यालय परिवारले विद्यालयकी भूतपूर्व विद्यार्थीसमेत रहेकी पवित्र गुरुङलाई विशेष स्वागत तथा सम्मान गरेपछि उनले सामाजिक सञ्जालमार्फत प्रधानाध्यापक मानबहादुर तामाङलगायत सम्पूर्ण गुरुजन, विद्यार्थी तथा स्थानीय समुदायप्रति कृतज्ञता व्यक्त गरेकी छन्।
“यो गरिमामय सम्मानले मलाई अझ जिम्मेवार बनाएको छ। विद्यालय परिवार र स्थानीय समाजप्रति हार्दिक आभार,”—उनले लेखेकी छन्।
छ महिनाको सांगीतिक भ्रमण पूरा गरी केही हप्ता अघि मात्र नेपाल फर्किएकी गुरुङले बेलायतमा रहँदा दर्जनौँ कार्यक्रममा प्रस्तुति दिएर उच्च प्रशंसा बटुलेकी थिइन्। उनले पहिलो पटक सन् २०२१ मा तमुधीं यूकेको निमन्त्रणामा बेलायत भ्रमण गरेकी थिइन् भने दोस्रोपटक जीआरएनसी यूकेको निमन्त्रणामा गत अप्रिल दोस्रो साता पुनः बेलायत गएकी थिइन्।
उनको सहभागिता तमुधीं यूकेद्वारा आयोजित गोर्खा कप, मगर संघ यूकेको ओपन कन्सर्ट, तमुधीं यूके र नेपाली राजदूतावास लन्डनको संयुक्त आयोजनामा भएको नेपाली मेला, लगायतका कार्यक्रमहरूमा विशेष चर्चा भयो। तीमध्ये पनि गोर्खा मिडियाद्वारा आयोजित ३१ अगस्टको च्यारिटी नाइट एक महत्वपूर्ण प्रस्तुति मानिन्छ।
गोर्खा मिडियाले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसरमा उनलाई १४ सेप्टेम्बरमा विशेष पुरस्कार प्रदान गरेको थियो।



















प्रतिक्रिया