वैशाख २३, बेत्रावती । नुवाकोटको ऐतिहासिक बेत्रावती सन्धिस्थलको चाईना एकेडेमी अफ कल्चरल हेरिटेजका प्रतिनिधिले अवलोकन गरेका छन् ।
मङ्गलबार (आज) सांस्कृतिक सम्पदाको अनुसन्धान, संरक्षण र जीर्णोद्धारमा कार्य गर्ने उक्त संस्थाका पुरातात्विकविद् लु चिनाक्सीले सन्धिस्थलमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठलाई भेट गरेका छन् । भेटको क्रममा विदुर नपा-१० का वडा अध्यक्ष गणेशकुमार नेपाल, त्रिशूली अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकी, स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाका प्रमुख सुनिल पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
बेत्रावति सन्धिस्थलमा ऐतिहासिक युद्धका सामग्रीसहितको स्मारक स्थापना र संरक्षणको लागि चालुआर्थिक वर्षमा १८ लाख रुपैयाँ बजेट विनियोजन गरी सिमाङ्कन पर्खाल लगाउने कार्य हुने नगरप्रमुख श्रेष्ठले जानकारी दिए । दुई देशबीचको मित्रता कायम तथा नयाँ पुस्तामाझ इतिहास जिवन्त राख्नको लागि बेत्रावति सन्धिस्थलको संरक्षणमा नगरपालिका लागेको बताए । उक्त स्थलमा थप कार्यको लागि नेपाली सेनासँग सहकार्य भई रहेको नगरप्रमुख श्रेष्ठले बताए ।
पुरातात्विकविद् लु चिनाक्सीले ऐतिहासिक बेत्रावती सन्धिस्थलको श्रव्यदृश्यसहितको दस्तावेज तयारी चीनका नागरिकमा पुर्याउने बताए । उक्त दस्तावेजले पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने उनले बताए ।
यसअघि नगरपालिकाको प्राविधिक टोली र नेपाली सेनाबाट स्थलगत अवलोकन एवं निरीक्षण भइसकेको छ ।
नेपाल-तिब्बत युद्धका क्रममा नेपाली पक्ष विजयी भएपश्चात् दुई देशबीच ‘बेत्रावती सन्धि’ भएको स्थानको ऐतिहासिक ढुङ्गाको संरक्षणका लागि नगरपालिकाले सक्रियता देखाएको थियो।
ऐतिहासिक तथा पुरातात्विक संरचनाको संरक्षण गर्ने क्रममा बेत्रावती सन्धि भएको दुई ढुङ्गाको संरक्षण, व्यवस्थापन, पुरातात्विक स्वरूपमा निर्माण, युद्धको नेतृत्व गर्ने वीर गोर्खालीको साालिक स्थापना गरिने योजना रहेको छ।
प्रतिक्रिया