२२ फागुन, काठमाडौं । नेपालकै ठूलो कागज उद्योग ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रालि’ सञ्चालनमा आएको छ ।
आयात प्रतिस्थापन गर्दै स्वदेशमै ठूलो मात्रामा रोजगारी गर्ने उद्देश्यले स्थापित उक्त उद्योगको आज बिहीबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रकृया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम कार्वोनेट उत्पादनको समेत अवलोकन गरे ।
दुई अर्ब रुपैयाँ लगानी रहेको उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिकस्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको हो ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा उक्त उद्योग सञ्चालनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई समुहका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा ल्याएका हुन् । विशेषगरी बित्तीय, पर्यटन, अटोमोबाइल, सूचनाप्रविधि र उर्जाक्षेमा संलग्न रहेको व्यवसायिक घराना आइएमई ग्रुपले पहिलो पटक कागज उद्योग सञ्चालनमा ल्याएको हो ।
पछिल्लो समय नेपालमा बढ्दो कागज आयातलाई प्रतिस्थापन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले कागज उद्योग सञ्चालनमा ल्याएको उनले बताए । हाल उक्त उद्योगमा आईएमई समूहलगायतको २ अर्ब रुपैयाँ बढी लगानी रहेको छ । उद्योगमा नेपाली लगानीकर्ताहरूकै लगानी रहेको छ । उद्योगको निर्माण प्रक्रिया सकिएर गत पुसदेखिनै उत्पादन शुरु गरिसकेको छ।
आयात प्रतिस्थापन गर्दै स्वदेशमै ठूलो मात्रामा रोजगारी गर्ने उद्देश्यले स्थापित उक्त उद्योग २०७८ सालमा शिलान्यास भएको थियो ।
उद्योगले पाँच सय जनालाई प्रत्यक्ष रोजगारी दिने जनाएको छ।
उक्त उद्योग सञ्चालनमा आएसँगै पहिलो वर्षमै नेपालका लागि आवश्यकमध्ये करिब ३० प्रतिशत कागज नेपालमै उत्पादन हुनेछ । उद्योगले स्वदेशी कच्चापदार्थ र जनशक्ति परिचालन गरी स्वदेशमै उच्च गुणस्तरीय कागज उत्पादन गर्ने दाबी गरेको छ ।
नेपालमा वार्षिक झण्डै डेढ लाख मेट्रिक टन पेपर खपत भइरहेको छ । कागज उद्योग नहुँदा अहिले सबै कामका लागि आवश्यक कागज आयात गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया