२० फागुन, विदुर । नुवाकोटका माझी समुदायले आज आफ्नो मुख्य पर्व लदी (कोसी पूजा) मनाएको छ ।
माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको तेस्रो मङ्गलबार विशेष पर्वको रूपमा मनाउने लदी पर्व यस वर्षको फागुनको तेस्रो साता मङ्गलबार आज परेको थियो ।
विदुर नगरपालिका-३ बुधसिंहघाटका नुवाकोट माझी महिला उत्थान संस्था तथा नेपाल माझी संघ नुवाकोटले आज एक कार्यक्रम आयोजना गरी पहिलोपटक लदी पर्व मनाएको हो ।

कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, वडाअध्यक्षहरु, नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकोटका अध्यक्ष बचुमाया सुनारी मगरको उपस्थितिमा माझी समुदायले विशेष पूजाआजा गरेको छ । माझी समुदायको मुख्य पेसा नदीमा डुङ्गा तार्ने, माछा मार्ने रहेको छ। नदीमा माछा मार्दा र डुङ्गा तार्दा नबगाओस् भन्ने कामनासहित वर्षेनी माझी समुदायले लदी पर्वको मनाएका छन् ।
माझी समुदायले आजको दिन खोलाको संगममा सामूहिक विशेष पूजाआजा गर्दै खोलालाई बोका, कुखुरा र परेवाको बली दिने गर्छन् ।
गत वर्ष बागमती प्रदेश सरकारले समेत लदी पर्वमा सार्वजनिक बिदा दिएको थियो तर यस वर्ष भने बिदा दिएको छैन ।
देशमा सबैभन्दा बढी माझी समुदायको बसोबास रामेछापमा रहेको छ । रामेछापपछि मकवानपुर र सिन्धुलीमा माझी समुदायको बाक्लो बसोबास रहेको छ ।

प्रतिक्रिया