१९ माघ, काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासङ्घले तेस्रो राष्ट्रिय महाधिवेशनका लागि जिम्मेवारी बाँडफाँडसहित विभिन्न उपसमिति गठन गरेको छ ।
महासङ्घका संयोजक भागिरथ सापकोटाको अध्यक्षतामा र इञ्चार्ज रचना खड्काको प्रमुख आतिथ्यतामा बसेको सचिवालय बैठकले ५ वटा उपसमिति गठन गर्ने सहितका विभिन्न निर्णय गरेको हो ।
महासङ्घको सचिवालय बैठकले महासचिव बालकृष्ण सिवाकोटीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरेको छ । यो उपसमितिमा कार्यालय विभाग प्रमुख सुवर्ण श्रेष्ठ, निर्वाचन आयोग संयोजक टंकबहादुर राउत, सबै प्रदेश अध्यक्षहरु र सबै वस्तुगत संगठनका अध्यक्षहरु रहने महासंघका अध्यक्ष सापकोटाले जानकारी दिएका छन् ।
यस्तै, कोषाध्यक्ष डिमप्रसाद पौडेल (प्रकाश)को संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । उपसमितिमा शैलेन्द्र गुरांगाईं, खड्गबहादुर ताम्लिीङ र सागर ढकाल सदस्य तोकिएका छन् ।
यस्तै प्रचार विभाग प्रमुख रामराजा श्रेष्ठको संयोजकत्वकम प्रचारप्रसार उपसमिति गठन गरिएको छ । उपसमितिमा पनि संयोजकको सिफारिसमा आवश्यक सदस्य थप गरिने छ ।
कार्यालय विभाग प्रमुख सुवर्ण श्रेष्ठको संयोकत्वमा हल व्यवस्थापन उपसमिति पनि गठन गरिएको छ । उपसमितिमा मोतीराज ज्ञवाली, टंकबहादुर राउत र बालाराम भट्टराई सदस्य तोकिएका छन् ।
अतिथि सत्कार उपसमितिको संयोजन भने महासंघका पूर्व उपाध्यक्षहरुले गर्ने गरि जिम्मेवारी तोकिएको छ । उपसमितिमा डेकनाथ गौतम, रामबहादुर गुरुङ, डिबी बस्नेत, सुर्यबहादुर थापा, सिएन पाण्डे र डा. तिलचन्द्र भट्टराई रहेका छन् ।
यसैबीच, महासंघ मातहत प्रदेश, जिल्ला, स्थानीय सङ्घ, बस्तुगत संगठन, कर्पोरेट परिषद र महिला उद्यमी परिषदले आ–आफ्नो संगठनको महाधिबेशन सम्पन्न गर्नुपर्ने समय अवधि पुरा भएर अधिबेशन सम्पन्न नभएकाको हकमा फागुन १८ गते भित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने समयसीमा पनि सचिवालय बैठकले तोकेको छ ।
सबै वस्तुगत संगठन, प्रदेश, जिल्ला, स्थानीय, सङ्घ, कर्पोरेट परिषद, केन्द्रीय आयोग, केन्द्रीय विभाग, केन्द्रीयस्तरमा बनेका समितिहरुले आफ्नो संगठनात्मक विवरण फागुन १९ भित्र महासङ्घमा पठाउनुपर्ने पनि महासंघले बताएको छ ।
यस्तै, वस्तुगत संगठन, प्रदेश, जिल्ला स्थानीय तह, कर्पोरेट परिषद र आयोग, विभागबाट चुनिएका प्रतिनिधिको विवरण फागुन २८ गतेभित्र महासङ्घ केन्द्रीय कार्यालयमा पठाई सक्नुपर्ने र यो मितिमा विवरण नपठाएमा महासङ्घको महाधिबेशनमा प्रतिनिधिको रुपमा सहभागी हुन नपाइने समेत महासंघले जनाएको छ ।
यसअघि नवलपुरको गैंडाकोटमा बसेको महासङ्घको बसेको विस्तारित बैठकले चैतको ८ र ९ गते काठमाडौँमा महासङ्घको महाधिवेशन गर्ने मिति तोकिसकेको छ ।

प्रतिक्रिया