१४ माघ, ललितपुर । राष्ट्रिय सहकारी नियमन प्राधिकरण आजदेखि ललितपुरमा औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
साविकको राष्ट्रिय सहकारी विकास बोर्डको भवनमा प्राधिकरणको कार्यालय स्थापना गरिएको हो ।
सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले औपचारिक रूपमा प्राधिकरणको उद्घाटन गरेका हुन्।
सरकारले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ मार्फत पुस १४ गते सहकारी ऐन २०७४ संशोधन गर्दै प्राधिकरण गठनको व्यवस्था गरेको थियो । संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न प्राधिकरण गठन गरिएको हो ।
प्राधिकरणमा एक अध्यक्ष सहित चार सदस्य रहने व्यवस्था छ । प्राधिकरणका सदस्यहरूमा नेपाल राष्ट्र बैंकका एकजना कार्यकारी निर्देशक, मन्त्रालयको सहकारी हेर्ने सहसचिव, एकजना विज्ञ सदस्य र एकजना चार्टर्ड एकाउन्टेन्ट रहने व्यवस्था गरिएको छ ।
यसैगरी, राष्ट्रिय सहकारी विकास बोर्डका कर्मचारीहरू प्राधिकरणको स्वतः कर्मचारी बन्ने व्यवस्था अध्यादेशले गरेको छ । सहकारी अध्यादेशमार्फत बोर्ड ऐन खारेजीसँगै प्राधिकरण स्थापना भएको हो ।

प्रतिक्रिया