भदौ १५, नुवाकोट । भदौ १० को विनाशकारी बाढीले विद्युत् सेवाको अनिश्चितता र बारम्बार हुने कटौतीका कारण नुवाकोटस्थित त्रिशूली अस्पतालको दैनिक स्वास्थ्य सेवा प्रवाह गम्भीर सङ्कटमा परेको छ।
अस्पतालमा रहेका सिटी स्क्यान जस्ता अत्याधुनिक डायग्नोस्टिक उपकरण, निरन्तर चालु राख्नुपर्ने अक्सिजन प्लान्ट तथा अन्य ठूला प्राविधिक मेसिनहरूलाई आवश्यक पर्ने पर्याप्त र नियमित विद्युत् प्रवाह नहुँदा बिरामीहरूको उपचार प्रक्रिया नै जोखिममा पर्न थालेको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले बताए ।
उनले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका संवेदनशील उपकरणहरूलाई निर्वाध रूपमा सञ्चालन गर्नको लागि तत्काल विशेष पहल गरिदिन अस्पताल प्रशासन तथा सम्बन्धित हितधारकहरूले सम्बन्धित निकाय र विद्युत् प्राधिकरणसमक्ष जोडदार अनुरोध गरेका छन्।
वैकल्पिक ऊर्जाका रूपमा लगातार जेनेरेटर चलाउनु पर्दा त्यसले दीर्घकालीन समाधान दिनुको सट्टा थप जटिलता र आर्थिक भार निम्त्याइरहेको उनले बताए । लामो समयसम्म जेनेरेटर चलाउँदा मेसिनमै प्राविधिक खराबी र टुटफुट आउने समस्या तीव्र रूपमा बढेको छ भने अर्कोतर्फ इन्धनका रूपमा आवश्यक पर्ने डिजेलको समेत निरन्तर अभाव हुने गरेको छ।
जेनेरेटरको भर पर्दा अस्पतालको सञ्चालन खर्च अत्यधिक बढ्न पुगेको छ भने कुनै पनि समय उपकरण ठप्प भई आकस्मिक सेवा प्रभावित हुने त्रास कायम नै रहेको जनाएको छ।
अस्पतालमा नियमित र भरपर्दो विद्युत् लाइनको व्यवस्थापन हुन सकेमा दैनिक रूपमा प्रदान गरिने सम्पूर्ण आपतकालीन तथा सामान्य स्वास्थ्य सेवाहरू थप व्यवस्थित, सुलभ र सहज हुनेछन्। जटिल बिरामीहरूको जीवन रक्षाका लागि अत्यावश्यक मानिने अक्सिजन उत्पादन र सिटी स्क्यान जस्ता परीक्षणहरू बिनाअवरोध सञ्चालन हुनु अस्पतालको प्राथमिक आवश्यकता रहेको जनाएको छ।