भदौ १६, नुवाकोट। शिवपुरी गाउँपालिका–७ स्थित छहरे–टोखा सडक खण्डको काफलडाँडा क्षेत्रमा रुखसहितको सुख्खा पहिरो जाँदा सडक दुवैतर्फी पूर्ण रूपमा अवरुद्ध भएको छ।
अचानक खसेको पहिरोका कारण काठमाडौं र नुवाकोट जोड्ने छोटो दूरीको यो सडकमा सवारी साधनहरूको आवतजावत ठप्प बनेको छ। पहिरो परेपछि सडकको दुवैकातर्फ सवारी साधनको लामो लाइन लागेको छ।
हाल स्थानीय प्रशासन र सडक विभागको प्राविधिक टोली पहिरो पन्छाउन खटिसकेको छ। पहिरो ठूलो भएकाले र रुखहरूसमेत हटाउनुपर्ने भएकाले सडक पुनः सञ्चालनमा ल्याउन केही समय लाग्ने जिल्ला ट्राफिक प्रहरीका प्रमुख बिनोद ढकालले जानकारी दिए ।
सडक सफा गर्ने काम जारी रहेकाले उक्त मार्ग भएर यात्रा गर्ने चालक तथा यात्रीहरूलाई धैर्यता अपनाउन वा वैकल्पिक मार्ग छहरे–विदुर–गल्छी हुँदै काठमाडौं वा गूर्जेभञ्ज्याङ क्षेत्रका वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।
यात्राको क्रममा उच्च सावधानी अपनाउन, लेन अनुशासनको पूर्ण पालना गर्न, अत्तालिएर ओभरटेक नगर्न र खटिएका सुरक्षाकर्मी एवं सम्बन्धित निकायको निर्देशन पालना गर्न सबैमा अपिल गरेको छ।