+
Search

ताजा अपडेट +

पपुलर +

“अर्थतन्त्र लयमा आएको छ”: अर्थमन्त्री पौडेल

finance minister bishnu poudel
डबली खबर
१ साल अगाडी

६ माघ, काठमाडौं । बैंक डुब्ने र अर्थतन्त्र सङ्कटमा परेको भनी फैलिएका हल्लाको खण्डन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई लयमा फर्काइएको बताएका छन्।

आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बैंक र अर्थतन्त्रलाई डुब्न नदिने प्रतिबद्धता व्यक्त गर्दै अर्थतन्त्रले सकारात्मक दिशा समातेको दाबी गरे ।

अर्थमन्त्री पौडेलका अनुसार आर्थिक सूचकांकले सरकारका प्रयास सफल हुँदै गएको देखाएको छ।

हामीले जिम्मेवारी लिँदा परिसूचक प्रतिकूल अवस्थामा थिए। त्यहाँबाट यहाँसम्म आइपुग्न केही समय लागेको हो। तर, अहिले अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको छ,’ अर्थमन्त्री पौडेलले भने।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निर्यात वृद्धि, आयात–निर्यात अनुपात सुधार, र राजस्व संकलनमा सुधारले अर्थतन्त्रको मजबूतीलाई देखाएको अर्थमन्त्री पौडेलको भनाइ छ ।

अर्थमन्त्री पौडेलले सार्वजनिक संस्थानको समस्यालाई व्याख्या गरेर बस्ने समय नभएको र यसलाई राम्रोसँग सञ्चालन गर्ने दिशामा सरकार अगाडि बढेको बताए। सम्पत्ति शुद्धीकरण निवारणमा सरकारले गर्नुपर्ने कामको सूची तयार गरी तीव्र गतिमा कार्यान्वयन भइरहेको जानकारी पनि अर्थमन्त्री पौडेलले दिए। यस क्रममा विज्ञहरूसँग छलफल गरी नयाँ नियमावली र कार्यविधिहरू निर्माण गरिएको अर्थमन्त्री पौडेलले उल्लेख गरे।

पुंजीगत खर्चको गुणस्तर र समय व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे। विगत वर्षको भुक्तानी दायित्वका कारण देखा परेका समस्यालाई समाधान गर्दै अघि बढिरहेको र अब सार्वजनिक निर्माण व्यवसायीले विधिसम्मत दावी गरे तुरुन्तै भुक्तानी हुने अवस्था सुनिश्चित गरिएको अर्थमन्त्री पौडेलले बताए ।

निजी क्षेत्रसँगको सहकार्यमा असान्दर्भिक कानुन खारेज गरी नयाँ कानुन निर्माण गरिएको र यसले निजी क्षेत्रको विश्वासलाई उच्च बनाएको अर्थमन्त्री पौडेलले बताए। ‘निजी क्षेत्रका साथीहरूले सरकारलाई धन्यवाद दिनुभएको छ । यो उत्साहलाई अझ अघि बढाउन सरकार प्रतिबद्ध छ,’ अर्थमन्त्री पौडेलले भने।

आफ्नो सम्बोधनको अन्त्यमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रप्रति निराधार हल्लामा विश्वास नगर्न आग्रह गर्दै भने, ‘बैंक डुब्दैन, अर्थतन्त्र पनि डुब्दैन। हामी छौं, डुब्न दिने छैनौं। यसमा कुनै शंका गर्नु आवश्यक छैन।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ