पुस १२, नुवाकोट । त्रिशूली अस्पतालमा गत आर्थिक वर्षमा करीब दुई सय जना महिलाहरुले सुरक्षित गर्भपतन सेवा लिएका छन् । आव २०८०/८१ मा अस्पतालमा एक सय ९२ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएको अस्पतालका नर्सिङ प्रमुख देवकी पुडासैनीले जानकारी दिईन् ।
अस्पतालमा १२ हप्तासम्मको गर्भ रहेका मध्ये १० जना महिलाले शल्यक्रियामार्फत् सुरक्षित गर्भपतन गराएको तथ्यांक छ । चिकित्सा पद्धतिमार्फत् गर्भपतन गर्नेमा एक सय ८० जना महिला रहेको नर्सिङ प्रमुख पुडासैनीले जानकारी दिईन् ।
छोटो र लामो समयको लागि ८४ जना महिलाले परिवार नियोजनका साधन प्रयोग गरेका छन् । पाँच जनाको गर्भपतनमा जटिलता देखिएको छ । गर्भपतनपछिको जटिलतामा धेरै रगत बग्ने, पाठेघरमा प्वाल पर्ने लगायतका समस्या हुने गरेको उनले बताईन् ।
सेवाग्राही महिलाहरुको इच्छाअनुसार गर्भपतनको माध्यम प्रयोग गरिने अस्पतालका नर्सिङ प्रमुख पुडासैनीले बताईन् । सुरक्षित गर्भपतन सेवा कार्यक्रम कार्यविधि निर्देशिकाले गर्भपतनको अधिकार महिलामा दिएको हुनाले पनि सहज भएको बताईन् ।
सुरक्षित गर्भपतनसँग सम्बन्धित जानकारी नपाएर सेवाग्राही निकै न्यून मात्रामा मात्रै अस्पतालमा गर्भपतन सेवा लिन आउने बताईन् । उनले भनिन्, ‘निश्चित अवधिसम्मको गर्भपतन गर्नु जोखिमयुक्त कार्य होइन । तर सूचीकृत र अनुमति नपाएका संस्थामा गएर गर्भपतन गर्दा भने स्वास्थ्य नै ठूलो जोखिममा पर्ने गर्छ। सुरक्षित गर्भपतन सेवा अङ्कित स्टिकर टाँस भएको मात्रा स्वास्थ्यमा गर्भपतन गर्न हुन्छ । अन्यथा जोखिमको अवस्था सिर्जना हुन्छ ।’
परिवार नियोजनका अस्थाई साधन गर्भनिरोधक प्रत्यारोपण ‘इम्प्लान्ट’ का स्वास्थ्य सामाग्रीको अभाव हुदाँ केही महिना अगाडी अस्पतालको सेवामा कठिनाई आएको नर्सिङ प्रमुख पुडासैनीले बताईन् ।
अस्पतालमा रहेको विदुर नगरपालिकाद्वारा सञ्चालित मातृशिशु सेवा कक्षले परिवार योजना, खोपलगायत परामर्शको सेवा दिँदै आईरहेको छ । कक्षबाट इम्प्लान्ट ४७१ जना, डिपो ६७ जना, आईयूसीडी ३८ जना र पिल्स ६ जना महिलाहरुले सेवा दिँदै आईरहेको कक्षका इञ्चार्ज सुमित्रा रिमालले जानकारी दिईन् । कक्षमा गर्भनिरोधक चक्की ‘आइपिल’ नि:शुल्क पाईने भएतापनि सेवाग्राही कमै मात्रामा आउने रिमालले जानकारी दिईन् ।
जनस्वास्थ्य कार्यालय नुवाकोटका अनुसार गत आवमा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुबाट २०३ जना महिलाले सुरक्षित गर्भपनत सेवा लिएका छन् । यसैगरी, २० वर्षभन्दा कम उमेरका १३० महिलाले सुरक्षित गर्भपतन गराएका छन् ।
पछिल्लो समय महिलाहरु आफ्नो स्वास्थ्यका बारेमा निककै सजग रहेको पाईन्छ । कुनै समय गर्भपतनलाई ठूलो मान्ने नेपाली समाज बिस्तारै परिवर्तन हुँदै गएको छ । कानुनले पनि केहि विशेष अवस्थामा गर्भपन गराउन मिल्ने छुट दिएको छ ।
सुरक्षित गर्भपतन सेवाका कारण मातृ मृत्युमा उल्लेख्य सुधार आएको छ । त्यसैगरी असुरक्षित गर्भपतनका कारण महिलाहरुको स्वास्थ्यमा हुने प्रजनन् रुग्णताको न्यूनिकरण गर्न पनि सफल भएको छ ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५, जनस्वास्थ्य सेवा ऐन, २०७५ र नियमावली, २०७७ ले सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा, परामर्श तथा प्रेषण, गर्भपतन पश्चात् सेवा तथा आवश्यक परामर्श र परिवार नियोजन सेवालाई आधारभूत स्वास्थ्य सेवामा परिभाषित गरेको छ।

प्रतिक्रिया