+
Search

ताजा अपडेट +

पपुलर +

अब अङ्गदान र प्रत्यारोपणसम्बन्धी जानकारी अनलाइनबाटै

health and population ministry office
डबली खबर
१ साल अगाडी

१ पुस, काठमाडौं । नेपालमा अङ्ग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी थालेको अनलाइन सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका छन् ।

मन्त्री पौडेलले सरकारले नागरिकहरुका लागि निःशुल्क मृगौला प्रत्यारोपण तथा डायलसिस सेवा उपलब्ध गराइरहेको भन्दै धेरैको ज्यान बचाउन नागरिकहरुका लागि मष्तिष्क मृत्युपश्चात् अङ्गदान प्रोत्साहन गर्न कार्यक्रम शुरु भएको जानकारी दिए ।अनलाइनमार्फत् अङ्गदान गर्ने जोकोहीले दर्ता गराउन सकिने तथा लिन चाहनेले जानकारीसमेत पाउने उनले बताए ।

नेपालसहित विभिन्न देशका अंग प्रत्यारोपणमा संलग्न चिकित्सक, विज्ञ तथा सरोकारवाला सहभागी कार्यक्रममा मन्त्री पौडेलले भने, ‘देशमा ९८ प्रतिशत मृगौला तथा ९० प्रतिशत नागरिक फोक्सो प्रत्यारोपणपछि सामान्य जीवन बाँचिरहेका छन् । हामी प्रत्यारोपण सेवा अझ विस्तार गर्न प्रतिबद्ध छौं ।’

मन्त्री पौडेलले अहिले भक्तपुरको केन्द्रबाहेक पोखरा र सुर्खेतमा उपलब्ध प्रत्यारोपण सेवा यसै वर्ष बाँकी प्रदेशमा विस्तार गर्ने लक्ष्यसाथ काम गरिरहेको बताए । ‘यसै वर्ष थप प्रदेशमा सेवा विस्तार भएको पाउनुहुनेछ,’ मन्त्री पौडेलले भने ।

नेपालमा १२ वर्षमा शहीद धर्मभक्त केन्द्रमार्फत एक हजार तीन सय ३५ मृगौला तथा ३० जनाको फोक्सो प्रत्यारोपण भैसकेको छ । मष्तिष्क मृत्यु भएका नागरिकबाट अंगदान प्रबद्र्धनका लागि भन्दै हालै मात्र दाताको परिवारलाई २ लाख तथा ७५ हजार अस्पतालका लागि दिने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गरेका थिए ।

स्वास्थ्य मन्त्री पौडेलले मष्तिष्क मृत्युपश्चातका दाता बढाउन दान अभियान प्रबद्र्धन तथा प्रत्यारोपण सेवा विस्तार गर्ने नीति लिएका छन् ।

देशको सरकारी प्रत्यारोपण सम्बन्धी एकमात्र विशिष्टिकृत अस्पताल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले वर्षेनी ३ हजार अपेक्षित मध्ये २ सय लाई मात्र मृगौला प्रत्यारोपण सुविधा दिन सकेको छ ।

दाता अभावमा अन्य अस्पतालले १ सय जनालाई मात्र अंग प्रत्यारोपण गर्न सफल भएका छन् । जीवित व्यक्तिले परिवारलाई मात्र दिन पाउने तर मष्तिष्क मृत्यु भए पछि दान गर्ने दाता कम भएका कारण कैयौंले दाता अभावमा ज्यान गुमाउनु परिरहेको छ ।

मन्त्री पौडेलका अनुसार हाल भक्तपुरस्थित केन्द्रका अलावा सरकारीस्तरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत प्रादेशिक अस्पतालले अंग प्रत्यारोपण सेवा दिइरहेकामा भेरी अस्पताल घोराही दाङ, सुदुरपश्चिम प्रदेशमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल तथा बाग्मतीको भरतपुर अस्पतालमा समेत मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

कोसी अस्पताल विराटनगरमा केही समयभित्रै यो सेवा थाल्ने तयारी गरिएको छ । दाता र लिन चाहने बिरामी र अस्पताल बढ्दै जाँदा अनलाइन प्रणालीले ताजा जानकारी दिने भएकाले यसले धेरैको ज्यान बचाउन मद्दत गर्ने विश्वास लिइएको चिकित्सक डाक्टर कल्पना श्रेष्ठले बताइन् । ‘एकीकृत अनलाइन प्रणालीले अस्पताल र बिरामी दुवैलाई धेरै सजिलो बनाउँछ,’ उनले भनिन् ।

मष्तिष्क मृत्युपश्चात तत्काल जानकारी अनलाइनमा राखिने भएकाले यसले प्रत्यारोपण कुरिरहेका बिरामी उपचाररत अस्पताललेसमेत तत्काल अङ्ग प्रत्यारोपण गर्न जानकारी प्राप्त गर्ने केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । दाता तथा बिरामीले केन्द्रको वेबसाइट एसडीएनटिसी डट जिओभी डट एनपी मार्फत जानकारी लिन सक्नेछन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ